एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय खाद्यान्न बालीको उत्पादन बढ्दै जान थालेको छ । गएको आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाको विभिन्न स्थानमा लगाइएको धान, मकै, गहुँलगायत खाद्यान्न बाढीको उत्पादनमा वृद्धि भएको हो ।
गत वर्ष कुल ३८ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गरिएकोमा जिल्लाभर १३ हजार ३ सय ६४ मेट्रिक टन उत्पादन भएको थियो । धान खेतीमा गत वर्ष प्रति हेक्टर ३ दशमलव ५९ मेट्रिक टन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको वर्षभन्दा अघिल्लो आव ०८०/८१ मा पनि ३८ सय ६ हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गरिएकोमा १२ हजार ९ सय ७८ दशमलव ५ मेट्रिक टन उत्पादन भएको थियो ।
सो अवधिमा प्रति हेक्टर ३ दशमलव ४१ प्रतिशत धानको उत्पादकत्व रहेको थियो । आर्थिक वर्ष ०७९/८० मा भने ३८ सय ९० हेक्टर क्षेत्रफलको जमिनमा धान खेती गरिएकोमा जिल्लाभर कुल १२ हजार ५९ मेट्रिक टन मात्रै धान उत्पादन भई प्रति हेक्टर ३ दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो । यसरी तीन वर्षको तथ्याङ्कलाई आङ्कलन गर्दा गत वर्ष धानको उत्पादनमा वृद्धि भएको देखिन्छ । समयमै धान रोपाइँ, पर्याप्त वर्षा, बिऊमलको सहज आपूर्ति र गह्रा सुधार जस्ता कारणले धानको उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
यसै गरी गत वर्ष ९ हजार १ सय हेक्टर क्षेत्रफलमा मकै लगाइएकोमा कुल २८ हजार ४ सय मेट्रिक टन उत्पादन भई प्रति हेक्टर ३ दशमलव १२ प्रतिशत उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी गङ्गा लामिछानेले जानकारी दिनुभयो । आर्थिक वर्ष ०८०/८१ मा ९ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैबाट कुल २८ हजार ५ सय २० मेट्रिक टन उत्पादन भएको थियो भने आव ०७९/८० मा ९ हजार ५ सय हेक्टर क्षेत्रफलको जमिनको मकै खेतीबाट २९ हजार ४ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । यी दुई आवमा मकै खेतीतर्फ प्रति हेक्टर ३ दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो ।
त्यस्तै म्याग्दी जिल्लामा गत वर्ष कुल २२ सय ८० हेक्टरमा गहुँको खेती गरिएकोमा ५२ सय ६६ दशमलव ८ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष गहुँको उत्पादकत्व प्रति हेक्टर २ दशमलव ३१ मेट्रिक टन रहेको छ । गतभन्दा अघिल्ला दुई आवमा क्रमशः ५३ सय ३६ र ५५ सय ४४ मेट्रिक टन गहुँको उत्पादन भएको छ । रैथाने बालीअन्तर्गत गत वर्ष २४ सय हेक्टरमा कोदो खेती गरिएकोमा कुल ३१ सय ६८ मेट्रिक टन तथा प्रति हेक्टर १ दशमलव ३२ मेट्रिक टन उत्पादकत्व रहेको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।
गतभन्दा अघिल्ला दुई आवमा क्रमशः ३४ सय मेट्रिक टन र ३ हजार ७५ मेट्रिक टन कोदो उत्पादन भएको थियो । गत वर्ष १ सय ४० हेक्टरमा फापरको खेती गरिएकोमा जम्मा १ सय ५४ मेट्रिक टन मात्रै उत्पादन भएको छ भने यसअघि १ सय ६५ र १ सय ७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । त्यसै गरी गत वर्ष २ सय ४० हेक्टर क्षेत्रफलमा जौ लगाइएकोमा ३ सय ४५ मेट्रिक टन उत्पादन भएको छ ।
गएको वर्षमा कुल १७ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलको जमिनमा खाद्यान्न बाली लगाइएकोमा त्यसबाट ५० हजार ९ सय ९७ दशमलव ८० मेट्रिक टन उत्पादन भएको छ । कुल खाद्यान्न बालीतर्फ प्रति हेक्टर २ दशमलव ८४ मेट्रिक टन उत्पादन भएको छ । यसरी समग्रमा हेर्दा खाद्यान्न बालीको उत्पादन भने क्रमशः बढेको देखिन्छ । जिल्लामा पछिल्लो समय सुन्तला जात फलफूल तथा आलुलगायत नगदे बाली विस्तार भएकाले पनि खाद्यान्न बालीको क्षेत्रफल घट्न गएको कृषि प्रसार अधिकृत लामिछानेको भनाइ छ ।
म्याग्दी जिल्लाभर कुल ३० हजार ८ सय ५६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टर क्षेत्रफलको जमिनमा मात्रै खेती गरिएको छ । ११ हजार ३ सय ६८ हेक्टर क्षेत्रफल जमिन बाँझै छ । खेती गरिएकोमध्ये ६ हजार १३ हेक्टर क्षेत्रफलको जमिन सिञ्चित रहेको छ भने यसमध्ये पनि १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने बाँकी ४३ सय ३३ हेक्टर जमिनमा भने मौसमी सिँचाइ मात्र हुन्छ ।
१३ हजार ४ सय ८५ हेक्टर क्षेत्रफलको जमिन भने असिञ्चित अर्थात् यसमा सिँचाइ नै हुँदैन । वि.सं. २०७८ सालको जनगणना अनुसार म्याग्दीको कुल जनसङ्ख्या १ लाख ७ हजार ३३ रहेकोमा जम्मा घर परिवार २८ हजार ८ सय ३० रहेको छ भने त्यसमध्ये कृषक घर परिवार मात्रै २१ हजार ७ सय ९२ रहेका छन् ।