---Advertisement---

मालिका गाउँपालिकाको दरबाङ बजारमा अनुगमन, अधिकांश पसलहरुमा सरसफाइको अभाव देखियो

By प्रताप बानियाँ
On: August 22, 2025 11:25 AM
Follow Us:

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र मालिका गाउँपालिकाको समन्वयमा मालिकाको सदरमुकाम समेत रहेको दरबाङ बजारमा सञ्चालित पसलहरुको अनुगमन गरिएको थियो । दैनिक उपभोग्य सामानहरुमा प्रयोगको वर्तमान अवस्था पत्ता लगाएर बिक्रेता र क्रेताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले दरबाङमा सञ्चालित किराना तथा खाद्यान्न, खाजाघर, होटल तथा रेष्टुरेण्ट, फ्रेस हाउस, डेरी र बेकरीसहित कुल १७ वटा पसलहरुमा अनुमगन गरेको जनाएको छ । दरबाङमा सञ्चालित हरि किराना, हेमा पाउरोटी उद्योग तथा पुन फ्रेस हाउस, दरबाङ खाजाघर, डि. एण्ड एस. जनरल स्टोर्स, मालिका जनरल स्टोर्स, कुशल किराना एण्ड धागो पसल, जे. एण्ड जे. फुड सर्भिस, आरोसी खाजाघर, रोशनी इन्टरप्राईजेज, नयन कस्मेटिक तथा साईकल पसल, रमा कस्मेटिक पसल, जेनिसा फास्टफुड एण्ड मिठाई पसल, पूर्णिमा किराना स्टोर्स, मनिष स्वीट चाट हाउस, चन्द्र खाद्य स्टोर्स र सन्तोष किराना तथा जनरल सप्लायर्समा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका पसलहरुमा म्याद सकिएको सामानहरु बिक्री वितरण गरेको, पसल र होटल तथा रेष्टुरेण्टमा सरसफाइ नगरेको, मूल्यसूची र साईनबोर्ड नटाँसेको, एउटा नामको पसल दर्ता गरी अन्य प्रकृतिका सामानहरु बिक्री गरेको, लेबल नटाँसको सामान बिक्रीमा राखेको र पसल दर्ता नगरिकनै सञ्चालन गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । अनुगमनमा भेटिएका कमजोरीलाई तत्कालै सुधार गरी सुझाव तथा निर्देशनको अटेर गर्ने पसल सञ्चालकलाई पसलको दर्ता तथा नवीकरणका कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा भेटिएका म्याद नाघेका दैनिक उपभोग्यलगायत सामानहरु जफत गर्नुका साथै नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । विगतको समयमा भएको बजार अनुगमनको कारणले यसपालि भने केही सुधारका सङ्केतहरु देखिएको भए पनि अझै थप सुधार गर्नुपर्ने आवश्यकता रहेको अनुगमन टोलीले जानकारी दिएको छ । अनुगमनमा म्याद सकिएका दैनिक उपभोग्य सामानहरु चिसो पेयपदार्थ, चाउचाउलगायत पाँचहजार दुईसय ४० रुपैयाँ बराबरको सामानहरु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताउनुभयो ।

होटल तथा रेष्टुरेण्ट एवं किराना पसल र सामानहरुमा गुणस्तर कायम गर्नका लागि पटकपटक स्थानीय तहमा बजार अनुगमन गरी पसल सञ्चालकहरुलाई यसअघि अनुगमन टोलीले दिएको निर्देशनको प्रभावकारी पालना समेत हुन सकेको छैन । पसलहरुको समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउनुका साथै उपभोक्तालाई पनि सचेत बनाउनुपर्ने आवश्यकता देखिन्छ । जिल्लाको विभिन्न स्थानमा सञ्चालित पसलहरुमा पनि सरोकारवाला निकायबाट नियमित रुपमा अनुगमनलाई जोड गर्नुपर्नेछ ।

प्रताप बानियाँ

Leave a Comment