---Advertisement---

म्याग्दी उद्योग वाणिज्य संघद्वारा प्रजिअ ढकाललाई विदाई

By प्रताप बानियाँ
On: August 23, 2025 8:09 AM
Follow Us:

निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवार विदाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लाबाट सरुवा भएर गृह मन्त्रालय जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई जिल्ला प्रशासन कार्यालयमा पुगेर विदाई गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर म्याग्दी उद्योग वाणिज्य संघको टोलीले प्रजिअ ढकाललाई दोसल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरी सम्मान गरिएको जनाएको छ । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले प्रजिअ ढकाललाई दोसल्ला ओढाउनुका साथै कदरपत्र हस्तान्तरण गर्नुभएको थियो । संघले जिल्लामा आउने प्रशासकहरुलाई स्वागतसँगै विदाई गर्दै आइरहेको हुँदा सोही अनुसार कार्यक्रम गरिएको बताएको छ ।

प्रजिअ ढकाललाई कदरपत्र हस्तान्तरण गर्दै संघका वरिष्ठ उपाध्यक्ष शाक्यले विगत एक वर्षको अवधिमा म्याग्दी जिल्लामा रहँदा प्रजिअ ढकालले निजी क्षेत्रको विकास तथा प्रवद्र्धन र उद्योग वाणिज्य संघसँगको सहकार्यमा महत्वपूर्ण सहयोगसहित आवश्यक भूमिका निभाउनुभएकोमा प्रशंसा गर्नुभयो । उहाँले म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रुपमा ढकालले जिल्लामा शान्तिसुरक्षा, अमनचयन कायम गर्नुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत नागरिकलाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेको बताउनुभएको थियो ।

विदाई कार्यक्रममा सम्मान ग्रहण गर्दै प्रजिअ ढकालले म्याग्दीमा निजी क्षेत्र र स्थानीय प्रशासनबीच सहकार्य र सम्बन्ध सुमधुर रहेको बताउनुभयो । उहाँले आफू जिल्लामा रहँदा सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त भएको बताउँदै जिल्लाको समग्र क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान रहने बताउनुभयो । उहाँले आफू सरुवा भएर जुनसुकै ठाउँमा पुगे पनि म्याग्दीलाई सधैँ सम्झिरहने बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघलाई स्वागत तथा विदाई गरेकोमा उहाँले धन्यवाद समेत दिनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले संघमार्फत जिल्लामा उद्योग, व्यापारसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्नुका साथै सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य संघका पदाधिकारीहरुले म्याग्दीको प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा रहुन्जेल सार्वजनिक सेवा प्रवाहमा सुधारसँगै निजी क्षेत्रसँग गरेको समन्वय तथा सहकार्य, जिल्लाको विकास निर्माण, शान्तिसुरक्षालगायत क्षेत्रमा गर्नुभएको पहलको स्मरण गराएका थिए ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल, पूर्व अध्यक्षहरु उत्तमकुमार कर्माचार्य, कुविरकुमार श्रेष्ठ, सुदर्शनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष लिलाराम गौतम र सचिव मोतिलाल पौडेल, म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, अधिवक्ता प्रेमबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रताप बानियाँ

Leave a Comment