म्याग्दी– हरितालिका तीज पर्वको अवसर पारेर म्याग्दी बहुमुखी क्याम्पसमा आइतबार विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहआयोजनामा नृत्य प्रतियोगिताको कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतियोगितालाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले पौराणिक महत्व बोकेको तिज पर्वलाई दरखाने, ब्रत बस्ने, गणेश तथा ऋषिहरुको पूजाआजा गरेर मनाउने प्रचलन रहेको बताउनुभयो । उहाँले पछिल्लो समय तिज पर्वको नाममा पर्वलाई नै भड्किलो बनाउने खालका गतिविधि हुने गरेकाले यसको मौलिकतालाई जोगाएर वर्तमान समयमा तिजको पुस्तान्तरण गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख क्षेत्रबहादुर भण्डारीले तिज पर्वको मौलिकता जोगाउँदै तिजको नाममा हुने बिकृतिलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले नृत्य प्रतियोगिताले एकापसमा संस्कार, संस्कृति र सामाजिक सम्बन्धलाई जोड्ने बताउँदै अहिले प्रविधिको विकाससँगै तिज पर्व पनि विभिन्न फोरम तथा सङ्गठनमार्फत मुखरित हुने गरेको बताउनुभयो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु)ले क्याम्पसमा रचनात्मक क्रियाकलाप सञ्चालनमा जोड दिइएको बताउनुभयो ।

कुल १६ वटा विद्यालय सहभागी नृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनी प्रथम, बेनी सामुदायिक मावि द्वितीय, बेनी बोर्डिङ सेकेण्डरी स्कुल तृतीय, माउण्ट एभरेष्ट आवासीय मावि र न्यू होराईजन आमावि पर्वत बेनी सान्त्वना भएका छन् । विजयी विद्यालयहरुलाई क्रमशः नगद दशहजार, आठहजार, छ हजार र तीनतीन हजार रुपैयाँको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको व्यवस्थापन सङ्कायको विभागीय प्रमुख विष्णुप्रसाद आचार्यले जडभरत शालग्राम गण्डकी वेदविद्याश्रम गलेश्वरका कलाकारलाई नगद तीनहजार र प्राध्यापक गोरखनाथ सुवेदीले एकहजार रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गर्नुभएको थियो ।

विद्यालयस्तरीय नृत्य प्रतियोगिताको शिक्षक कमला जिसी खत्रीले निर्णायक मण्डलमा बसेर संयोजन गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले पछिल्लो समय म्याग्दी क्याम्पसमा जिल्लास्थित विभिन्न संघसंस्थाहरुसँगको समन्वय तथा सहकार्यमा विविध कार्यक्रमहरु सञ्चालन भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रम क्याम्पस प्रमुख सुवेदीको अध्यक्षता, उपप्राध्यापक रेखाकौशल रेग्मीको स्वागत र प्राध्यापक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तिज पर्वको अवसरमा आयोजित कार्यक्रममा दर समेत खुवाइएको थियो भने सामूहिक नाचगान पनि गरिएको थियो ।




