---Advertisement---

तीजको भाका मात्र होइन, दरको स्वादमा पनि बदलाब

By उपेन्द्र लामिछाने(नागरिक)
On: August 25, 2025 3:10 PM
Follow Us:

रातो सारीमा सजिएर तीज दैलोमै आइपुगेको छ। तीजको आगमनसँगै खानाको स्वाद पनि आइहाल्छ। व्रतको अघिल्लो दिन मिठामिठा परिकारको रूपमा दर खाने चलन परम्परादेखि चलिआएको हो। तीजको भाका मात्र होइन, दरको स्वाद पनि समयअनुसार फेरिएको छ।

‘हाम्रा पालामा दर भनेको खिर हुन्थ्यो’, काठमाडौं गोठाटारकी ७० वर्षीया सानुमैयाँ पुडासैनीले भनिन्, ‘घरमै पालिएको गाईको दुधबाट खिर बनाएर दर खान्थ्यौं।’ दरको खिरसँगै तोरीको साग, केराउको अचार, आलुको तरकारीको स्वाद जिब्रोमा अझै झुन्डिएको उनले बताइन्।

उनको जस्तै भोगाइ छ सिन्धुपाल्चोक चौतारा घर भई हाल कागेश्वरी मनोहरा नगरपालिकामा बस्दै आएकी ६० वर्षीया गायत्री खड्काको। ‘हाटबजारबाट अलिअलि मिठाई, दही, तरकारी, मासु लिएर आउँथ्यौं’, उनले भनिन्, ‘ढकनीमा पोलिएको रोटी, अनि भातमा राखिएको घिउको बास्ना अझै भुल्न सकेकी छैन।’

चामलको पिठो, गुँड र घिउ मिसाएर बनाएको सेल रोटी, अनरसा, खजुरी वा अन्य त्यस्तै परिकारका दर खाएर तीज मनाएको याद धेरैलाई थाहा छ। पहिला दर साधारण तर पौष्टिक हुन्थ्यो। गाउँमा उपलब्ध चिजहरू नै दरका मुख्य आधार हुन्थे’, मनिता पाण्डे भन्छिन्, ‘दही, दुध, चिउरा, तरकारी, गुन्द्रुक–तरकारी, भटमासको अचार, मकैको ढिँडो वा ढकनीमा पोलिएको रोटी दरका मुख्य परिकार हुन्थे।’

दरको पुरानो स्वादसँगै सहर बजारमा नयाँ स्वाद पनि देखिएका छन्। अचेलको दर घरमा बनेको कम र बजारमा बनेका धेरै हुन थालेको छ। मिठाई अब घरमा बनाइँदैन, पसलमा किनिन्छ। लड्डु, रसबरी, बर्फी, गुलाबजामुन किनेरै ल्याइन्छ। ‘चिउरासँगै अब पास्ता, मम, पिजा, बर्गरसमेत दरको मेनुमा देखिन्छ’, सुलोचना थापा लेख्छिन्, ‘मासुमा पनि विविधता आएको छ। खसी, कुखुरा मात्र होइन, कतै त समुद्री परिकारसम्म राख्न थालिएको छ।’

अचेल त दर ‘उपवासको तयारी’ भन्दा बढी ‘फेसन’ बन्न थालेको कतिपयको बुझाइ छ।

तर दर पुरानो होस् या नयाँ दर नै भएको कतिपयको बुझाइ छ। दरको स्वादसँगै तीज मनाउने परम्परा र यसले ल्याउने उल्लास जीवन्त छ। महिला रातो सारी र चुरा लगाएर सजिन्छन्। दर खाने रातमा नाचगान, हाँसोठट्टा उस्तै छ। भजन होस् या आधुनिक गीत नाच्ने लय उस्तै छ। ती दर र यी दरबिच तुलना गर्दा स्वाद मात्र होइन, फरक जीवनशैली पनि देखिन्छ। उतिबेलाको दरमा घरको आत्मीयता धेरै हुन्थ्यो। अचेलको दरमा बजारको स्वाद मिसिएको धेरैको बुझाइ छ। जेसुकै भए पनि दर दर नै रहेको र यसले खुसी दिनेमा धेरै सहमत छन्। ‘दर तीजको आत्मा हो’, सुलोचना थप्छिन्, ‘जसले परिवार, आफन्त र साथीभाइलाई एउटै थलोमा भेला गराउँछ।’

उपेन्द्र लामिछाने(नागरिक)

Leave a Comment