बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाच प्रदर्शन गरिएको छ। नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरे।
भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिए। यसअघि वि.स. २०६२ मा यो नाच देखाइएको थियो। कलाकारको अभावका कारण बर्खेनाच अन्तर्गतको थेत्तोर नाच नियमित प्रदर्शन हुन सकेको थिएन। थेत्तोरलाई धानको बाला नाचका रूपमा चिनिन्छ।
थेत्तोर नाचमा परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिन्छ। ‘परापूर्वकालमा रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरू घर फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयवस्तुलाई ठट्यौली रूपमा गीतमा प्रस्तुत गरिन्छ,’ कलाकार विनोद श्रेष्ठले भने। ‘मौलिक गीतको लय र सुर तालमा लाहुरे, युवती र जोक्करले गर्ने अभिनय रोचक हुन्छ।’
थेत्तोर नाचमा यसपालि बेनी सामुदायिक माविका विद्यार्थी कलाकार सहभागी भए। नाचका लागि वाद्यवादनसहित ३० जनाभन्दा बढी कलाकार आवश्यक पर्छ। बेनी वरपरका गाउँबस्तीमा धान र कोदो रोपाइँको काम सकेपछि स्थानीय मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने यहाँको पुरानो चलन हो। बेनीमा घण्टाकर्ण चतुर्दशीदेखि सुरु भएको बर्खेनाचको तीज पर्वका दिन समापन गरिएको छ।
दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समापन गरिएको हो। दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेपछि बर्खेनाच सुरु भएको विश्वास छ। घण्टाकर्ण चतुर्दशीदेखि तीजसम्म विभिन्न नाच देखाइने यो बर्खेनाचले यहाँ जात्राकै रौनक दिन्छ। यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागनागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुःचका अध्यक्ष जेनेश श्रेष्ठले बताए। बर्खेनाचमा मृदङ्ग र मादलको तालमा नृत्य गरिन्छ। सबैजसो नाचमा परम्परागत समाजको चित्रण हुन्छ।
लाखेनाचमा परापूर्वकालमा समाजमा दुख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। रासस