---Advertisement---

साउनमा १४ अर्ब बढी सरकारी ऋण थप

On: August 27, 2025 3:50 PM
Follow Us:

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब बढी सरकारी ऋण थपिएको छ। 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ। यो कुल गार्हस्थ उत्पादनको ४३.९४ प्रतिशत हो।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत अर्थात् १४ खर्ब २ अर्ब ४७ करोड ६५ लाख छ भने आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत छ। चालु आवका लागि सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा साउन मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण उठाइसकेको कार्यालयले जनाएको छ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत छ। आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा पहिलो महिना ११.०५ प्रतिशत अर्थात् ४० अर्ब ऋण उठाइएको छ। बाह्यतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा साउनमा १.९६ प्रतिशत अर्थात् ४ अर्ब ५७ करोड ४८ लाख ऋण उठाइएको छ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा ब्याज तिर्न ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएकामा साउन मसान्तसम्ममा ३६ अर्ब ६८ करोड भुक्तानी भइसकेको छ। वार्षिक बजेट विनियोजनका आधारमा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइएको बजेट ८.९३ प्रतिशत छ।

Leave a Comment