बेनी नगरपालिका–९ घतानको ढोल्ठान गाउँमा एक ऐतिहासिक दरबार छ । समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा पर्ने त्यही ढोल्ठान दरबारले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । नेपालमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठानमा रहेको मानिन्छ । स्थानीयका अनुसार अहिलेको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । त्यहाँ बज्रपात भएर दरबारमा भीषण आगलागी भएपछि राजा डिम्बले ढोल्ठानमा दरबार बनाएर त्यहीँ बसाइ सरेका थिए ।

ढोल्ठानबाटै पर्वत राज्यको राज्य सञ्चालन गरेको हुँदा त्यसबेला ढोल्ठानलाई मुख्य र म्याग्दीको बेनीलाई सह–राजधानी मानेको जनविश्वास रहँदै आएको छ । पर्वत राज्यको राजधानी रहेको ढोल्ठानमा बस्दा राजा जाडोको समयमा हालको म्याग्दी सदरमुकाम बेनीबजार र गर्मीयाममा ढोल्ठानमै बस्ने गरेको इतिहास भेटिन्छ । यही सन्दर्भलाई समेटेर बुढापाकाहरु गीत सुनाउँछन्, ‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी ।’

अहिले कोतमन्दिर भएको ठाउँमा राजाको दरबार तथा त्यसको नजिकै काजी (मन्त्री)को दरबारका अवशेष छ । कोतमन्दिर र काजीको दरबार रहेको ठाउँमा स्थानीयले धर्मशाला बनाएका छन् । दरबार नजिकै विद्यालय रहेको ठाउँमा राजाले हाँस पाल्ने पोखरी समेत रहेको किम्बदन्ती छ । ढोल्ठान गाउँको शिरमा अवस्थित दरबार रहेको ठाउँमा हाल दरबारका केही अवशेषहरु मात्रै भेटिन्छन् । दरबार जीर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठ तथा फर्निचरहरु पनि चोरी हुँदै गएको स्थानीय भेषबहादुर सेनले बताउनुभयो ।

नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यहरुमध्ये ऐतिहासिक पर्वत राज्य निकै शक्तिशाली मानिन्थ्यो । नेपाल एकीकरणका अभियानकर्ता पृथ्वीनारायण शाहले नेपालमा रहेका स–साना राज्यको एकीकरण सुरु गरेको समयमा पर्वत राज्यमा आक्रमण गर्ने क्रममा उनका फौजहरु पर्वतको लँडाइमा हारेपछि अन्यत्र राज्य जिते पनि पर्वत राज्यमा उनले हार बेहोर्नुपरेको इतिहास पढ्न पाइन्छ।

यहाँको इतिहास बेच्न सकेमा पर्यटक भित्राउन सजिलो हुने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । ढोल्ठान राजदरबारको डिलबाट धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रेका साथै मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।

म्याग्दीको साविक १६ वटा गाविसहरु प्रत्यक्ष देख्न सकिने यस ठाउँबाट छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, धाईरिङ, पाङ तथा बागलुङ जिल्लाको धार्मिक क्षेत्र पञ्चकोट लगायतका स्थान तथा ग्रामीण वस्तीहरुको सौन्दर्यताको अवलोकन गर्न पाइन्छ । वडा कार्यालयले करिब ५ करोडको डिपिआर समेत बनाएको छ । डिपिआर अन्तरगत तत्कालिन समयमा रहेका संरचनालाई पुरानै स्वरुपमा बनाएर पर्यटक भित्राउने लक्ष्य रहेको वडा अध्यक्ष चक्रबहादुर केसीको भनाई छ ।

दरबार क्षेत्रको अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारबाट उद्योग तथा पर्यटन मन्त्रालयबाट प्रवेशद्धारा, पदमार्ग, वडा कार्यालयबाट प्रतिक्षालय र खानेपानी, डिभिजन बन कार्यालयबाट शौचालय, हरियाली पार्क, मन्दिर मर्मत डाडाँखेत रहुघाट सवस्टेशनले मन्दिर मर्मत र भु संरक्षण कार्यालयबाट पर्खाल सहित विभिन्न संघसंस्थाले पर्यटकीयस्थल चिनाउन सहयोग गरेका छन् ।

म्याग्दी सदरमुकामदेखि ११ किलोमिटरको दुरीमा रहेको ढोल्ठान दरबार क्षेत्रमा गाडीमार्फत डेढ घण्टामा सजिलै पुगिन्छ । कतिपय पर्यटकहरु पैदलयात्रा गरेर वा आफ्नै गाडीमा पनि जाने गर्दछन् । म्याग्दीको बेनीदेखि अथुङ्गे–गुफा–पुलहाश्रम–घतानकोत हुँदै ढोल्ठान दरबार क्षेत्रको अवलोकन गरेर फर्कन सकिन्छ । यस्तै जगन्नाथ मन्दिरको दर्शन गरेर केभहिल हुँदै ढोल्ठान दरबारसम्म पनि पुग्न सकिन्छ ।