---Advertisement---

बस्तीमा सिसी क्यामेरा जडानले अपराधिक घटनामा कमी

By हरिकृष्ण गौतम
On: August 28, 2025 8:28 AM
Follow Us:

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१मा सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान भएपछि आपराधिक घटनामा कमी आएको छ । वडाभित्रका बस्ती, बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको वडा अध्यक्ष प्रमेश गुरूङले बताउनुभयो ।


गुरूङका अनुसार सिसी क्यामेरा जडान गरेपछि गाउँमा भएको दुई चोरीको घटनामा संलग्नलाई तत्कालै पक्राउ गरिएको तथा चोरी र अपराधजन्य गतिविधिमा समेत कमी आएको छ । मदिरा सेवन गरी होहल्ला गर्ने, गाउँभित्र चोरी तथा झगडा गर्नेको संख्यामा कमी आएको वडा अध्यक्ष गुरूङको भनाई छ ।


हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिर, गुम्बा तथा ऐतिहासिक एवं पुरातात्विक महत्वका बस्तीमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक, धार्मिक तिर्थालुका साथै स्थानीयबासीको सुरक्षाका लागि वडा कार्यालयले २५ वटा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालयले रानीपौवामा १०, खिङ्गा गाउँमा ६,झारकोटमा ४, लुप्रा ३ र अन्य सार्वजनिक स्थानमा २ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

‘‘सिसी क्यामेरा जडान गरेपछि पर्यटकलाई सुरक्षा भएको छ,केही चोरीका घटनामा संलग्नलाई पनि पक्राउ गर्न सफल भएका छौ ।’’ गाउँपालिकाका प्रबक्ता समेत रहनुभएका गुरूङले भन्नुभयो । वडामा १ सय ६० घरधुरीमा ६ सयभन्दा बढीको बसोबास रहेको छ ।


वडाभित्र कुनै घटना घटेमा तत्कालै प्रहरीसँगै उक्त क्षेत्रमा रहेको सिसी क्यामेराबाट समेत संलग्नको पहिचान गरी समुदायबाटै खोजीकार्य हुने गरेको वडा अध्यक्ष गुरूङको भनाई छ । बस्तीस्तरबाट संकलन गरिएको सुझावका आधारमा सिसी क्यामेरा जडान गरिएको र आगामी दिनमा समुदायले दैनिक प्रत्यक्ष लाभ हुने क्षेत्रलाई नै प्राथमिकतामा राखेर योजना बनाउने अध्यक्ष गुरुङले बताउनुभयो ।


सिसी क्यामेरा जडान भएपछि मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउनेले समेत सुरक्षित महसुस गरेको मन्दिरका कर्मचारी रविन सुबेदीले बताउनुभयो ।‘‘वडामा नमुना काम भइरहेको छ, विगतमा जस्तो झगडा, चोरीका घटनामा समेत कमी आएको छ ।’’वडा कार्यालयले नयाँ सिसी क्यामेरा थप तथा जडानका लागि चालु आर्थिक बर्ष २०८२÷०८३ सालमा थप ५ लाख बिनियोजन समेत गरेको छ ।
यसैबीच उज्यालो वडा बनाउने अभियानमा खिङ्गामा ५३ र रानीपौवामा २८ वटा एक सय वाटको सडक बत्ती समेत जडान गरिएको छ। यस बर्ष थप बस्तीमा र कागबेनी–मुक्तीनाथ सडकखण्डमा सडक बत्ती विस्तारका लागि १८ लाख विनियोजन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयो । मुक्तिनाथ क्षेत्रमा बर्षेनी करिब ८ लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।

हरिकृष्ण गौतम

Leave a Comment