डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
नवदुर्गा गाउँपालिका-५, चौडस्थित कच्ची सडकबाट जिप खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ठाडाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप बिहान सवा ९ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
घाइते ६ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, डडेल्धुरा पठाइएको छ। मृतक चारै जनाको शव पनि घटनास्थलबाट निकालेर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।