---Advertisement---

आम्दानीको माध्यम बन्दै निगुरो र खोलेसाग

On: August 29, 2025 4:34 PM
Follow Us:

जाँगरिला मानिसहरुका लागि खोल्साखाल्सी र बनजंगलमा बिना लगानी र श्रम प्राकृतिकरुपमा नै पाइने टुसा,मुना र वनस्पतिहरु पनि आम्दानीका गतिला माध्यम बन्दारहेछन् भन्ने प्रशस्त उदाहरणहरु भेटिन्छन् ।

उत्तरी र पश्चिमी म्याग्दीका विद्यालय उमेरका विपन्न बालबालिका,महिला र फुर्सदिला प्रौढ व्यक्तिहरु यतिबेला बनजंगल र चिस्यानयुक्त खोस्साखाल्सीमा निगुरो र खोलेसाग टिपेर बजारमा विक्रि गर्न व्यस्त छन् ।

वर्षायाममा जङ्गलमा पाइने निगुरो बेचेर यहाँका ग्रामीण महिला र विपन्न विद्यार्थीहरुले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाहरूले पढाई खर्च जुटाउने गरेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको निगुरो र खोलेसागको व्यापार वर्षायाममा राम्रै फस्टाउने गरेको छ । यसमा पनि अधिकांश महिला र बालबालिकाहरू रहेका छन् ।

बिहानै खाना खाएर जङ्गल पसेर शुक्रवार र शनिवारको दिन डोकोभरी निगुरो र डुँडेसाख खोजेर ल्याउनु र सदरमुकाम बेनी बजार लगाएत ग्रामीण क्षेत्रका बजारहरुमा लगेर बेच्नु पश्चिम म्याग्दीका रुम,देविस्थान,मराङ,बिम र उत्तरी म्याग्दीका बेग,हिस्तान,दोवा,दग्नाम,नारच्याङ, लगाएतका गाउँका विपन्न समुदाय र विद्यालय उमेरका बालबालिकाहरुको वषौँदेखिको नियमित कार्य जस्तै बनेको छ ।

धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको निगुरो र खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा अनौठो लागेपनि यहाँका वासिन्दाहरुका लागि निगुरो,खोले साग र डुँडे साग आम्दानीको गतिलो श्रोत बनेको रघुगंगा गाउँपालिका ४ का टिकीसरा गर्बुजाले जानकारी दिनुभयो ।

दग्नामका ७२ वर्षीय दलबहादुर गर्बुजाले गाउँको छेउमा रहेको पानीको धारो (पधेरो) को माथिपट्टी रहेको जग्गामा खोले साग लगाएर एक सिजनमा रु आठदेखि रु १० हजारसम्म आम्दानी गर्दै आएको छ भने त्यहाँका सोमबहादुर बर्देवा, राजन वर्देवा लगायत विद्यालयमा पढ्ने बालबालिकाले डुँडे साग बेचेर एक सिजनमा रु १० देखि १५ हजार आम्दानी गरेर विद्यालयको खर्च चलाएका छन् ।

विषादी रहित र शतप्रतिशत जैविक हुने भएकाले खोले र डँडे साग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।
गाउँदेखि सहर बजारसम्म खोले र डुँडे सागको माग बढ्न थालेपछि दग्नामका बासिन्दाले गाउँको चिस्यानयुक्त ठाउँमा त्यसै खेर गइरहेको साग टिपेर मनग्य आम्दानी गर्न थालेका छन् ।

छिप्छिपे पानी बग्ने खोला र जरुवामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिएको दग्नामका वीरबहादुर बर्देवाले बताउनुभयो । कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुङ्गे साग पनि भनिन्छ ।

त्यसैगरी डुँडे साग जलुकीनी र खोलाको किनारामा पाइन्छ । बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले व्यावसायिक रूपमा नै खोले सागको खेती गर्न थालेका छन् ।

म्याग्दीका दग्नाम, चिमखोला, बेग, हिस्तान, कुइने, गुर्जा, मुदा, मुदीलगायत ठाउँमा खोले साग पाइने भए पनि स्थानीयले यसलाई व्यावसायिक रुप दिन नसकिरहेको अवस्थामा दग्नामका बासिन्दाले व्यावसायिक रुपमा गरेको साग खेतीले धेरैलाई प्रेरणा दिने दर्मिजाको ६१ वर्षिय शेरबहादुर गर्बुजाले बताउनुभयो ।

किसानका अनुसार निगुरो विशेषगरी वर्षाको समयमा जंगल र सिमसार क्षेत्रमा पाइन्छ भने खोलेसाग मङ्सिरदेखि चैतसम्म उत्पादन हुन्छ । विशेष गरेर फागुनदेखि चैतसम्म यसको माग अत्याधिक हुने किसानको भनाइ छ ।

निगुरो र खोले साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकाले यसको माग दिन प्रतिदिन बढ्दै गएको बताइन्छ ।

किसानका अनुसार खोले साग रोपेको एक महिनाभित्र नै बेच्न लायक हुन्छ । रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नु पर्दैन । त्यसैले विना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर स्थानीय किसानले राम्रो आम्दानी गर्दै आइरहेका छन् ।

घरमा छोराछोरीको पालनपोषण, पढाइलेखाइ तथा घरायसी व्यवहार चलाउनुपर्ने भएकाले बेगकी हिराकुमारी विकले वषौँदेखि निगुरो तथा मौसमी जङ्गली तरकारीको व्यापार गरेर घर खर्चको केही हिस्सा धानेको बताउनुहुन्छ ।

“रोप्ने र गोड्ने काम गर्नु नपर्ने भएकाले आम्दानी त राम्रै हुन्छ । तर, यो सिजनमा मात्र हुने भएकाले अन्य सिजनमा अरूनै काम खोज्नु पर्ने हुन्छ”विकले भन्नुभयो ।

एक पटकमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्मको निगुरो र खोलेसाग बेच्दै आएकी बिकले प्रति मुठा ५० देखि ८० रुपैयाँँसम्म लिने गरेको बताउनुभयो । थोरै मात्रामा निगुरो र खोलेसाग बजारमा आएको बेला अलि राम्रो मूल्य पाउने गरेको उहाँको भनाइ छ । शुक्रबार घरका छोराछोरीलाई समेत जङ्गलमा लगेर निगुरो खोज्न लगाउने विकले बताउनुभयो ।

पछिल्लो समयमा जिल्लाका अन्य जङ्गलबाट पनि केहीले निगुरो र खोलेसाग खोजेर बजारमा बिक्री गरी आम्दानी गरिरहेका छन् ।
स्कुलमा बिदा भएका समयमा विद्यार्थीहरू पनि समयको सदुपयोग गर्दै निगुरो टिपी बजारमा बिक्री गरी स्टेसनरी खर्च जुटाउदै आएका छन् ।
सदरमुकामका कर्मचारीहरू तथा स्थानीयले निगुरो र खोले सागलाई बजारमा नयाँ जातको अर्गानिक तरकारी भन्दै किन्ने गरेको पाइन्छ । तरकारीका साथै अचार बनाउन समेत निगुरो र खोले सागको प्रयोग गरिन्छ ।

Leave a Comment