नेपाली महिलाहरुको ठूलो चाड तिजको मौलिकता जोगाउन जन्भमूमी छोडेर आएकाहरू सक्रिय हुनुपर्ने म्याग्दी समाज न्यूर्योक अमेरिकाले आयोजित गरेको कार्यक्रममा बताइएको छ ।
न्यूर्योकमा रहेका म्याग्देली चेलीलाई लक्षित गरी आयोजित तिज विशेष कार्यक्रममा परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट गर्न तिज पर्वको मौलिकता जोगाउँदै वर्ष दिनभरका दुःखसुख, जीवन भोगाइका अनुभव साटासाट गदैं मनोरञ्जनका कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको थियो ।

समाजका अध्यक्ष तिर्थ घर्तीमगरले तिजले नेपाली समाजको विशिष्ट प्रकारको सांस्कृतिक र सामाजिक पहिचान बोकेको अवस्थामा समाजले महिला दिदीबहिनीहरुलाई शुभकामना आदानप्रदान सहित घरमाइतको सम्झना हुने गरी तिज विशेष कार्यक्रम गरेको बताउनुभयो ।

सोही अवसरमा समाजकी सल्लाहकार प्रेमा घर्तीमगरले आफ्नै घरआगनमा तिज मनाएको जस्तै झल्को दिने गरी मनाउन पाएकोमा आभार प्रकट गर्नुभयो । उहाँले तिजको नाममा गरिने उच्छृंखल कृयाकलापबाट हाम्रो पहिचान मासिने र हाम्रो संस्कार, संस्कृतिको मौलिक स्वरुप भत्किंदै जाने भएकाले परम्पराको रक्षाको निम्ति आफै सचेत हुनुपर्ने बताउनुभयो ।

तिज विशेष कार्यक्रममा म्याग्देलीको उल्लेखनीय सहभागिता रहेको म्याग्दी समाज न्यूर्योक अमेरिका कोषाध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । सल्लाहकार प्रेमा घर्तीमगरको अध्यक्षता। समाजका अध्यक्ष तिर्थ घर्तीमगरको प्रमुख आतिथ्यता महिला उपाध्यक्ष प्रितिमाया पुनको स्वागत र आजिवन सदस्य प्रतिभा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

म्याग्दी समाज न्यूर्योक अमेरिकाले न्यूर्योक क्षेत्रमा बसोबास गर्ने म्याग्देलीलाई विभिन्न कार्यक्रमहरु गरी संस्थामा आवद्ध गराउनुका साथै त्यहाँ समस्यामा परेका म्याग्देलीलाई आर्थिक सहयोग सहित रचनात्मक कार्यहरु गर्ने गरेको छ ।


