---Advertisement---

लोमान्थाङमा विश्वकै चर्चित गल्फ प्रतियोगिता हुने

On: September 1, 2025 7:47 AM
Follow Us:

विश्वकै अग्लो स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौथो संस्करण भदौ २८ र २९ गते हुने भएको छ।  

मुस्ताङको लोमान्थाङमा समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको लोमान्थाङ गल्फ कोर्समा प्रतियोगिता हुने आयोजक मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।  

प्रतियोगितामा स्वदेश र विदेशबाट ६० भन्दा बढी गल्फरको सहभागिता रहने आयोजक संस्था मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए। उनका अनुसार यो संस्करणमा नेपालका उत्कृष्ट गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  

गत वर्षसम्म नौ होलमा सीमित प्रतियोगिता यो वर्ष १८ होलमा विस्तार गरिएको छ। प्रतियोगिताका विजेतालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित ट्रफी दिइने छ।  

‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई पुरस्कारस्वरूप घोडा दिइने प्रबन्ध निर्देशक विष्टले बताए। यो पुरस्कार विश्वभरका गल्फरका लागि अनौठो हुने उनको भनाइ छ।  

प्रतियोगिता ‘स्टेबलफोर्ड’ ढाँचामा खेलाइने छ। जसमा विजेता, उपविजेता, उत्कृष्ट ग्रस, महिला विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’ र ‘लङ्गेस्ट ड्राइभ’ का लागि छुट्टाछुट्टै पुरस्कार दिइने आयोजकले जनाएको छ।  

यो वर्षको संस्करण ‘टी फर क्लाइमेट’ नारासहित सञ्चालन हुने विष्टले बताए। ‘मुस्ताङ अहिले जलवायु सङ्कटको चपेटामा छ। यसबारे विश्वको ध्यानाकर्षण गराउन हामी अग्लो स्थानको गल्फ कोर्सबाट सन्देश दिन्छौँ,’ प्रबन्ध निर्देशक विष्टले भने।  

खेलसँगै स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुति प्रतियोगिता अवधिभर देखाइने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका र विभिन्न सङ्घसंस्थाले सहयोग गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न १० देखि १२ लाख खर्च हुने अनुमान छ।

Leave a Comment