---Advertisement---

बेनी सामुदायिक माविमा विद्यार्थी स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम

On: September 1, 2025 10:44 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयको आयोजनामा विद्यार्थी स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ द्वारा कक्षा ११ मा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुलाई स्वागत, शिक्षक सम्मान तथा राष्ट्रिय कलाकारको साथमा कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनपश्चात् सम्बोधन गर्दै नगर प्रमुख केसीले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थीको आकर्षणको केन्द्र बनाउनुपर्ने बताउँदै यसका लागि सरोकारवाला निकायले सघाउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख विदुर शर्मा चापागाईँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले दक्ष र योग्य शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण आचार्य र प्रधानाध्यापक दीपक श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको अवसरमा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई डायरी दिएर स्वागत गरेका थिए ।

विद्यालयको बृहत सांस्कृतिक कार्यक्रममा कलाकारद्वय रवि कार्की र सम्भोज मल्लले आ–आफ्नो गीतमार्फत कार्यक्रमका अतिथि, विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थीहरुलाई छमछमी नचाउनुभएको थियो । कलाकारद्वयलाई विद्यालयको तर्फदेखि नगदसहित कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रम कक्षा १२ का विद्यार्थीद्वय अमन श्रेष्ठको अध्यक्षता, करुणा छन्त्यालको स्वागत र विद्यालयका शिक्षक मदन सुवेदी तथा विद्यार्थी दृष्टि जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीद्वय दिप्सिका भण्डारी र सविना परियारले धन्यवादज्ञापन गर्नुभएको थियो भने विद्यार्थीहरुले स्वागत गीतसँगै नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका अतिथिहरुलाई विद्यालयको तर्फदेखि मायाको चिनो समेत प्रदान गर्नुका साथै विभिन्न विधातर्फ सम्मान गरिएको विद्यालयले जनाएको छ ।

Leave a Comment