बानियाँ बन्धु समाज जिल्ला समिति म्याग्दीको शनिवार बेनीमा ३०औं वार्षिक साधारणसभा तथा १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शिव बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय बानियाँ बन्धु समाज म्याग्दीको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनबाट समाजको उपाध्यक्षमा गणेशबहादुर बानियाँ, सचिवमा सुरतबहादुर बानियाँ, कोषाध्यक्षमा जगतबहादुर बानियाँ र सहसचिवमा विष्णुबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा दिनेश बानियाँ, भेषबहादुर बानियाँ, तेजबहादुर बानियाँ, ज्ञानेन्द्रबहादुर बानियाँ, लोकबहादुर बानियाँ, विशाल बानियाँ, नारायणबहादुर बानियाँ, यामबहादुर बानियाँ र रेशमबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै बानियाँ बन्धु समाजका केन्द्रीय अध्यक्ष नरबहादुर बानियाँ बिसीले केन्द्रीय समितिमार्फत अहिले बानियाँहरुको वंशघर निर्माणकार्यको योजना अगाडि सारिएको हुँदा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले वंशघर निर्माणसम्पन्न भएपछि त्यसमा बानियाँहरुले समाज रुपान्तरण तथा परिवर्तनमा पु¥याएको योगदान झल्कने खालका सामग्रीहरु सङ्ग्रह गरेर राखिने बताउँदै वंशघर निर्माणको क्रममा देशभर छरिएर रहनुभएका सबै बानियाँ बन्धुहरुले थोरै भए पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँ र ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बन्धु दाजुभाइहरुको बीचमा आपसी समन्वय, सद्भाव, सहकार्य तथा एकता हुनुपर्ने बताउनुभयो । वडाध्यक्षद्वय बानियाँले समाज रुपान्तरण र पछाडि परेकाहरुको उत्थान गर्नका लागि बानियाँ बन्धु समाज अग्रसर भएर लाग्नुपर्ने भन्दै बानियाँ बन्धु समाज केन्द्रीय समितिले बनाउन लागेको केन्द्रीय कार्यालय भवनको निर्माणमा सबै बन्धुहरुले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बानियाँ बन्धु समाजका केन्द्रीय सदस्य एवं बानियाँ वंशघर निर्माण समितिका संयोजक गोपाल बानियाँ र बेनी नगरपालिका ५ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष लक्ष्मण बानियाँले समाज विकास तथा परिवर्तनमा बानियाँहरुले विशेष भूमिका खेल्नुपर्ने बताउनुभएको थियो । सोही अवसरमा बानियाँ बन्धु समाजका केन्द्रीय अध्यक्ष नरबहादुर बानियाँ बिसीले आफ्ना स्वर्गीय पिता जितबहादुर बानियाँको स्मृतिमा लेख्नुभएको ‘कोटघरे काइँला’ नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो ।
अधिवेशनको उद्घाटनसत्रमा समाजका अध्यक्ष शिव बानियाँले संस्थागत, निवर्तमान सचिव योगेन्द्रबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष मञ्जु घिमिरे बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष गणेशबहादुर बानियाँको स्वागत र सचिव योगेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो भने लेखक अजयमिलन श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र निर्वाचन समितिका संयोजक मोहन बानियाँले संयोजन गर्नुभएको थियो ।


