म्याग्दीको सदरमुकाम बेनीबजारबाट शनिबार रातीबाट हराएका दुई यूवा कालिगण्डकी नदीमा खसेको आशंकामा सशस्त्र प्रहरीको गोताखोरसहितको टोली खोजतलासका लागि परिचालन गरिने भएको छ ।
शनिबार राति साढे १० बजेदेखि सम्पर्कविहिन बेनी नगरपालिका–६,जामुनाखर्कका हरि रिजाल र रघुगंगा गाउँपालिका–२,भगवतीका कुमार रिजारको परिवार, आफन्तजन तथा नेपाल प्रहरी र शसस्त्र प्रहरीले संकास्पद सिसीटिभी फुटेजका आधारमा बेनीबजारको म्याग्दी र कालिगण्डकी नदीमा निििर्मत रिङरोड क्षेत्रलाई आधार बनाए सोमबार कालिगण्डकी नदीको लस्तीसम्म खोजीकार्य गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बेनीको एक होटलमा खानपिन गरेपछि रिजालद्धय बालमन्दिर चोक हुदै रिङरोडबाट यात्रा गरेको देखिन्छ । शनिबार राती साढे १० बजे आसपासको समयमा भाइरल रोडमा मोटरसाइकलमा सवार यात्रुको पर्वतबेनीबाट देखिएको संकास्पद दृष्यलाई आधार बनाएर कालिगण्डकी नदीमा खोजी कार्यलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।
‘खोजीकार्यमा कुनै कमी हुदैन, हामीले सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गछौ, नदीकिनारामा केही देखिएमा सम्पर्क गर्न पर्वत, बागलुङ क्षेत्रमा पनि खवर गरेका छौ, यो सन्देश मिर्मीसम्म पुगेको छ’ प्रजिअ तिवारीले बेनीअनलाइनलाई भन्नुभयो। बेपत्ता दुबै यूवाको मोवाइल अफ छ ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीको रुपमा कार्यरत कुमार र बेनीको एक पसलमा लेखा हिसाबकिताबको काम गर्ने हरि लामो समयदेखि संगै यात्रा गर्ने साथी हुनुहुन्छ ।आफन्तले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
हालसम्म बजार र पर्वत बेनीको सिसी टिभी फुटेजले म्याग्दी जेसीज आसपासमा एक बाइकले नियन्त्रण गुमाउँदा नदीमा खसेजस्तो देखिन्छ भने कालिपुलस्थित पक्की पुलमा रहेको सिसी टिभीमा रेकड भएको नभएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानको आधारमा खोजीकार्य भइरहेको छ ।
रिजालद्धय यात्रा गरेको समयमा बजार क्षेत्रमा भीषण बर्षा भएको थियो । यसैबीच कुनै समस्यामा परेर मोवाइल अफ गरेर बसेको भए परिवारको सम्पर्कमा आउन अनुरोध गरिएको छ ।