गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६ सय ८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गएको वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।
सबैभन्दा बढी ४० प्रतिशत भारतीय पर्यटक नेपाल भित्रिएका छन् । यो अवधिमा भारतबाट ३५ हजार, चीनबाट सात हजार पाँच सय ३३, अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच हजार नौ सय ५६ र बङ्गलादेशबाट चार हजार दुई सय ६२ पर्यटक भित्रिएका हुन् । गएको पुसदेखि अहिलेसम्म झन्डै सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।
यसैबीच हिमाल आरोहण गर्न नयाँ शुल्क लागू भएको छ । पर्यटन विभागका अनुसार आउँदो आरोहणयामका लागि आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ । हिजोदेखि लागू भएको नयाँ शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग दक्षिणपूर्वबाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ ।
त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार सात ५० डलर बुझाउनुपर्ने छ । अहिले शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो ।
सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन तीन हजार, शरदकालीन एक हजार पाँच सय र अन्य याममा सात सय ५० डलर शुल्क निर्धारण गरिएको छ ।