---Advertisement---

पर्यटकीय गन्तव्य बन्दै ढोल्ठान राजदरबार क्षेत्र (फोटोफिचर)

By प्रताप बानियाँ
On: September 3, 2025 1:41 PM
Follow Us:

नेपालमा तत्कालीन बाईसे र चौबीसे राज्यहरु कायम रहेको समयमा ऐतिहासिक पर्वत राज्यको राजधानी समेत रहेको हालको ढोलठान दरबार क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । ढोलठान दरबार क्षेत्रमा भौतिक संरचनाको विस्तार गरिएसँगै यहाँ पर्यटकहरुको चहलपहल बढेको हो ।

म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित ढोलठान गाउँमा एउटा ऐतिहासिक दरबार छ । समुन्द्री सतहदेखि १९ सय मिटरको उचाइमा पर्ने ढोलठान दरबारमा अहिले पर्यटकहरु पुग्ने गरेका छन् । पर्यटकलक्षित संरचनाहरु निर्माण भएपछि शनिवार तथा विदाको समयमा ढोलठान दरबार क्षेत्रमा म्याग्दीको विभिन्न ठाउँ र अन्य ठाउँबाट समेत आन्तरिक पर्यटकहरु आउन गरेको स्थानीयवासी भेषबहादुर सेनले बताउनुभयो ।

स्थानीयवासीले दिएको जानकारी अनुसार अहिलेको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । दरबार रहेको डढेकोत क्षेत्रमा तत्कालीन समयमा त्यो दरबारमा भीषण बज्रपात परेर आगलागीबाट दरबार जलेर नष्ट भयो । लगत्तै राजा डिम्ब ढोल्ठानमा झरेर दरबार बनाएपछि त्यहीँ बसाई सारेका थिए । ढोलठानबाटै पर्वत राज्यको राज्य सञ्चालन गरेको हुँदा त्यसबेला ढोलठानलाई मुख्य र म्याग्दीको बेनीलाई सह–राजधानी मानिएको जनविश्वास छ ।

पर्वत राज्यको राजधानी रहेको ढोलठानमा बस्दा राजा डिम्ब जाडोको समयमा हालको म्याग्दी सदरमुकाम बेनीबजार र गर्मीयाममा ढोल्ठानमै बस्ने गरेको इतिहास समेत रहेको पाइन्छ । यही सन्दर्भलाई समेटेर पहिलेको समयमा बुढापाकाहरुले, ‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी’ भनेर गीत समेत गाएका थिए । ढोलठान दरबार क्षेत्रमा अहिले कोतमन्दिर भएको ठाउँमा राजाको दरबार तथा त्यसको नजिकै काजी (मन्त्री)को दरबारका अवशेषहरु समेत आजयर्पन्त भेटिन्छन् । कोतमन्दिर र काजीको दरबार रहेको ठाउँमा स्थानीयवासीले धर्मशाला बनाएका छन् । दरबार नजिकै विद्यालय रहेको ठाउँमा राजाले हाँस पाल्ने पोखरी पनि रहेको छ ।

ढोलठान गाउँको शिरमा अवस्थित दरबार रहेको ठाउँबाट उत्तर–पूर्व फर्किएर हेर्दा धौलागिरि, अन्नपूर्ण, निलगिरी, मानापाथी, माछापुच्छे«लगायत हिमालहरु हाँसिरहेका देखिन्छन् । यसका साथै उच्च स्थानमा भएकाले वरपरको दृश्यहरुलाई धित मरुन्जेल नियाल्न पाइन्छ । यसैका कारणले गर्दा शत्रु वा विरोधीसँग लँडाइ गर्न सहज हुने भएकाले पनि ढोलठान क्षेत्रलाई तत्कालीन राजाले मन पराएको ठाउँको रुपमा चित्रण गरिएको छ । यस ठाउँमा अहिले दरबारका केही अवशेषहरु मात्रै पाइन्छन् । दरबार जिर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठ तथा फर्निचरहरु पनि चोरी हुँदै गएको स्थानीयवासी सेनले बताउनुभयो ।

नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यहरुमध्ये ऐतिहासिक पर्वत राज्य निकै शक्तिशाली मानिन्थ्यो । विशाल नेपाल एकीकरणका मुख्य अभियानकर्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालमा रहेका स–साना राज्यको एकीकरण सुरु गरेको समयमा पर्वत राज्यमा आक्रमण गर्ने क्रममा उनका फौजहरु पर्वतको लँडाइमा नराम्रोसँग हारेपछि अन्यत्र राज्य जिते पनि पर्वत राज्यमा उनले हार बेहोर्नुपरेको इतिहास अहिले पनि पढ्न पाइन्छ । ढोलठान दरबारको इतिहास बेच्न सकेमा थुप्रै संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आउन सक्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

ढोलठान राजदरबारको डिलबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ«्रेका साथै मनोरम हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । यसैगरी म्याग्दीको साविक १६ वटा गाविसहरु प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने यस ठाउँबाट छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, धाईरिङ, लेखफाँट, बाँसखर्क, पाङ तथा बागलुङ जिल्लाको धार्मिक क्षेत्र पञ्चकोट लगायतका स्थान र ग्रामीण वस्तीहरुको लेकाली सौन्दर्यता पनि देखिन्छन् । वडा कार्यालयले करिब पाँच करोड रुपैयाँको डिपिआर समेत बनाएको हुँदा उक्त डिपिआर अनुसार तत्कालीन समयमा रहेका संरचनालाई पुरानै स्वरुप झल्किने गरी आवश्यक भौतिक संरचनाहरु निर्माण गरी पर्यटक भिœयाउने लक्ष्य रहेको बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीले जानकारी दिनुभयो ।

ढोलठान दरबार क्षेत्रको अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारको उद्योग वन तथा पर्यटन मन्त्रालयबाट प्रवेशद्वार तथा पदमार्ग, वडा कार्यालयबाट प्रतिक्षालय र खानेपानी, डिभिजन वन कार्यालय म्याग्दीबाट शौचालय, हरियाली पार्क र कोत मन्दिरको मर्मतसम्भार एवं डाडाँखेत–राहुघाट सवस्टेशनले मन्दिर मर्मत र जिल्ला भू–संरक्षण कार्यालयबाट पर्खाल निर्माणसहित विभिन्न संघसंस्थाहरुले पर्यटकीयस्थल चिनाउनका लागि आवश्यक सहयोग गरेका छन् ।

ऐतिहासिक ढोलठान दरबार क्षेत्रको अध्ययन तथा अवलोकन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारबाट बेनी–अर्थुङ्ग–गुफा–राममन्दिर–कपिलाश्रम–पौलस्त्य–पुलहाश्रम–बरनाथ–गुफा–घतानकोत भएर ढोलठानसम्म पदयात्रा गरेर पुगिन्छ । त्यस्तै बेनी–अर्थुङ्गे–पुलाचौर–नयाँगाउँ तथा बेनी–अर्थुङ्गे–तोरीपानी–डाबा–धुपीबोट भएर पनि ढोलठान दरबार क्षेत्रमा पदयात्रा तथा सवारीसाधानमार्फत पुगेर रमाउन सकिन्छ ।

प्रताप बानियाँ

Leave a Comment