म्याग्दीमा पछिल्लो एक दशक यता खानेपानी सुविधाको पहुँच विस्तार हुँदै आएको छ । गण्डकी प्रदेश,सङ्घीय र विभिन्न संघ संस्थाहरुको सहयोगमा सञ्चालित खानेपानीको योजनाहरू मार्फत करिब दश हजार घरधुरी भन्दा बढीमा शुद्ध खानेपानीको सुविधा पुगेको हो । प्रदेश सरकारले मात्रै हाल सम्म म्याग्दीमा ७ हजार ४९ घरधुरीमा ‘एक घर एक खानेपानीको धारा’ निर्माण गरिसकेको छ ।
स्वच्छ पानीको सुविधाबाट वञ्चित भएका सर्वसाधारणहरू घर आँगनमा धारा निर्माण भई पानी उपभोग गर्न पाएपछि भने खुसी भएका छन् । प्रदेश सरकारको बजेट कार्यान्वयन गर्ने जिल्ला स्थित खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत पछिल्लो समय सञ्चालित योजनाहरूबाट मात्रै एक हजार दुई सय ८३ घरधुरीमा पानीका धारा जडान गरी पानी वितरण गरिएको छ ।
म्याग्दीमा एक हजार दुई सय ८३ घरधुरीमा खानेपानीको सुविधा विस्तार गरिएको छ । घरघरमा पानीका धारा निर्माण भएर शुद्ध पानीको उपभोग गर्न पाएपछि सर्वसाधारणहरू खुसी भएका छन् । नयाँ धारा जडान भएसँगै कुल ७ हजार ४९ घरधुरीमा एक घर एक धारा खानेपानीको पहुँच विस्तार भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल सम्म म्याग्दीका ९५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकार स्थापना भएपछि म्याग्दीमा एक घर एक खानेपानीको धारा निर्माण आयोजनाले तीव्रता पाएसँगै खानेपानीको सुविधा विस्तार भएको कार्यालयका प्रमुख झलक मोहन ओझाले बताउनुभयो ।
प्रदेश सरकार स्थापना भएसँगै खानेपानीको सुविधाबाट वञ्चित भएका बस्तीहरूमा खानेपानीको योजनाहरू सञ्चालन गरेर सुविधा विस्तार गर्ने कामले तीव्रता पाएको छ । योजनामा विनियोजन हुने न्यून बजेटका बाबजुद पनि यो अवधिमा योजनाहरू सम्पन्न गरेर एक हजार भन्दा बढी घरधुरीमा पिउने पानीको सुविधा पुर्याउन सफल भएको छ ।
कार्यालयका खानेपानी शाखाका इन्जिनियर शिवशङ्कर शाहका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले अधुरा योजना सहित प्रदेश र सङ्घबाट प्राप्त ४१ वटा खानेपानी योजना सञ्चालन गरेकोमा अहिले सम्म २० वटा खानेपानी योजनाको निर्माण गरी पानी वितरण गरिएको छ । सम्पन्न हुन बाँकी योजनाहरू निर्माणाधीन अवस्थामा रहेको छन् ।
कार्यालयले सञ्चालन गरेका विभिन्न खानेपानी योजनाहरूमा गत आर्थिक वर्षमा २३ वटा इन्टेक, ११ वटा सङ्कलन चेम्बर, ४ वटा डिसी, ४ वटा आइसिसी÷आरभिटी चेम्बर र २२ वटा पानी सङ्कलन ट्याङ्की निर्माण भएका छन् । ३० दशमलव ६ किलोमिटर प्रसारण पाइपलाइन र १०५.४८ किलोमिटर वितरण पाइपलाइन विस्तार गरिएको छ ।
खानेपानीको योजनाहरू सम्पन्न भएर घरघरमा पानी वितरण भएपछि सर्वसाधारणहरूले सफा र स्वच्छ पानीको उपभोग गर्न पाएको कार्यालयले जनाएको छ । यस अघि १० देखि १५ घरधुरीका लागि निर्माण गरिएका सार्वजनिक धारा मार्फत पिउने पानी उपभोग गर्दै आएकोमा अहिले घरको आँगनै पानीका धारा निर्माण गरेर सफा र स्वच्छ पानी उपभोग गर्न पाउँदा प्रदेश सरकारको अनुभूति भएको रघुगंगा गाउँपालिका २ भगवतीका खिम भण्डारीले बताउनुभयो ।