म्याग्दीमा २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ देखि १३ गतेसम्म सम्म हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शुक्रबार विहान जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा गतबर्षको भन्दा पुरस्कार समेत बढाइएको छ ।
पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका कोषाध्यक्ष नविन पौडेलको मुल संयोजकत्वमा २० विभिन्न उपसमिति सहित तयारीमा जुटेका शाखा अध्यक्ष विनादे घर्ती क्षत्रीले बताउनुभयो । ‘प्रतियोगितालाई विगतको भन्दा भब्य बनाउने योजनामा छौ, यसपटक पुरस्कार राशी समेत बढाइएको छ’ अध्यक्ष घर्ती क्षत्रीले भन्नुभयो । प्रतियोगिताको टाईटल प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस रहेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५५ हजार ५५५ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३५ हजार ५३५ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गालकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड िफल्डर, राईजिङ प्लेयर, उत्कृष्ट कोच,अनुशासित टिम नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको मुल संयोजक पौडेलले बताउनुभयो । प्रतियोगितामा सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने शाखा अध्यक्ष घर्ती क्षत्रीको भनाई छ ।
प्रतियोगितामा कुल आम्दानी ७ लाख ८० हजार र खर्च ७ लाख ५७ हजार २३१ हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय जेसीजका उपाध्यक्ष सन्दिप खत्री, पूर्व अध्यक्ष बिनय श्रेष्ठ,खम थापा, अध्यक्ष सुमन बानियाँ, विरेन्द्र श्रेष्ठ, निर्वतमान अध्यक्ष दिनेश बानियाँ लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा म्याग्दीका करिब २३ टिमभन्दा बढी विद्यालय सहभागिता रहने अनुमान गरिएको छ ।
सोही प्रतियोगिताको २२ औं संस्करणको उपाधि माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको थियो । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।