राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको प्रथम गण्डकी प्रदेश भेलाबाट गण्डकी प्रदेश समितिको सदस्यमा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी चयन हुनुभएको छ ।
’जनताको पानी, सरकारको लगानी’ भन्ने भावनालाई कार्यान्वयनको लागि गण्डकी प्रदेशको प्रथम भेलाबाट अध्यक्षमा विमला पहारी (लेखनाथ), सचिवमा राजुराम श्रेष्ठ (दुलेगौडा), कोषाध्यक्षमा तुलसी पाण्डे (अमरापुरी) छन् । समितिको सदस्यमा सीता खड्का (पृथ्वीनारायण), विष्णुमाया श्रेष्ठ (भिमाद), गोकुल अधिकारी (वयरघारी), केशवराज पौडेल (गैडाकोट), कमलनाथ पौडेल (शिवालय कुश्मा), रमा गौतम (पुरनचौर) र नारायण श्रेष्ठ (बलेवा, बागलुङ) रहेको कार्यसमिति सदस्य रमेश गिरीले जानकारी दिनुभयो ।
उक्त भेलाबाट पोखरा घोषणापत्र जारी गर्दै सबै प्रकारका खानेपानी आयोजनाहरूको दायित्व राज्यले लिनुपर्ने,खानेपानी सम्बन्धी राष्ट्रिय संकल्प प्रस्ताब कार्यान्वयन गराउन नेपाल सरकारलगायत सबै सरोकारवालाहरूसँग माग, खानेपानी सेवा प्रदायक संस्थाहरू गैरनाफामूलक भएकोले करमुक्त आयोजना निर्माण र सञ्चालन गर्न तथा नगर विकास कोषको ऋणमा ब्याजदर घटाउनका साथै खानेपानी क्षेत्रको जोखिम बिमाको लागि आवश्यक प्रबन्ध गर्न, हालै संघीय खानेपानी मन्त्रालयबाट कार्यालयको संरचना घटाई सेवा प्रभावित भएकोले खारेजमा परेका कार्यालयहरूबाट सेवा निरन्तर सञ्चालन गर्न माग गर्ने, सरसफाई र वातावरणलाई उच्च प्राथमिकतामा राखी डिजाइन चरणबाटै वातावरणीय प्रभाव मूल्यांकन गर्दै प्रविधिमैत्री र सुरक्षित खानेपानी आयोजना सञ्चालन गर्न माग गर्ने घोषणापत्रमा उल्लेख रहेको छ।