---Advertisement---

सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड

On: September 5, 2025 8:10 PM
Follow Us:

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी भनेका छन्।

सामाजिक सञ्जालमार्फत उनले सरकारले सरकारविरुद्ध गरिएको आलोचना दबाउन, आफ्नालाई जोगाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न निरन्तर मुद्दा लगाउने कार्यलाई निरन्तरता दिँदै आएको बताएका छन् । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गर्नु गम्भीर गल्ती भएको उनको भनाइ छ।

प्रचण्डले सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन–प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको समेत अपव्याख्या गरिएको बताएका छन् । “यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत जटिल र असहज बनाएको छ,” उनले लेखेका छन् ।

उनले सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा आफूहरू अडिग रहेको स्पष्ट गर्दै भनेका छन् , “संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो।”

प्रचण्डले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, सो निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

Leave a Comment