---Advertisement---

स्वास्थ्य परीक्षण नगरिएका भेडाच्याङ्ग्रा मुस्ताङ सीमामै रोकिने

On: September 6, 2025 10:42 AM
Follow Us:

दसैँलक्षित मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण नगरे सीमाक्षेत्रमा रोकिने भएका छन् । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र मुस्ताङले मुस्ताङमा उत्पादन भएकासहित तिब्बतलगायतका क्षेत्रबाट आउने भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरेपछि मात्रै जिल्लाबाट बाहिर पठाउने जनाएको छ । केन्द्रका प्रमुख डा. लालमणि अर्यालले जोमसोममा ज्वरोलगायत शारीरिक परीक्षण गरेपछि मात्रै ७२ घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने बताउनुभयो । 

लुकिछिपी भेडाच्याङ्ग्रा जिल्लाबाहिर लगे आवश्यक जरिबानासमेत गरिने छ भने पुनः जोमसोममा ल्याएर परीक्षण गरेपछि मात्रै पठाउने अनुमति दिइने प्रमुख डा. अर्यालले बताउनुभयो । 

प्रमुख अर्यालले भन्नुभयो, “बिनापरीक्षण गएका भेडाच्याङ्ग्रा नाकामै रोकिन्छ, उपभोक्तालाई स्वस्थकर मासु प्रयोग गर्न चाडपर्वका बेलामा अनुगमनसमेत धेरै हुन्छ ।” परीक्षणका क्रममा रोगी भेडाच्याङ्ग्रा पहिचान भएमा निगरानीमा राखेर उपचार गरेपछि मात्रै व्यापारीलाई जिम्मा लगाइने छ । 

नियमित खोप नलगाएका तथा बिरामी अवस्थाका भेडाच्याङ्ग्रा व्यापारीले सस्तोमा खरिद गर्ने भएकाले स्वास्थ्य परीक्षण प्रतिवेदन नभए प्रहरीले नाकाबाट फिर्ता पठाउने गरी समन्वय भएको प्रमुख डा. अर्यालले बताउनुभयो । अस्वस्थकर भेडाच्याङ्ग्रा सिङमा रातो रङको स्टिकर लगाइने उहाँको भनाइ छ ।   

नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्था अनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ । मुस्ताङबाट १२ हजार र डोल्पा र कोरला नाकाबाट तीन हजार गरी करिब १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान केन्द्रले गरेको छ । लेकाली जडीबुटी खाने भएकाले दसैँतिहार जस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुन्छ ।   

Leave a Comment