बेनी नगरपालिका–८ मा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बचत गर्ने बानीले दुख अप्ठ्यारो पर्दा सजिलो हुने बताउनुभयो । उहाँले समाजमा विद्यमान विभेदको समस्या हटाउनका लागि आर्थिक शसक्तिकरण आवश्यक रहेको बताउनुभयो ।

महिलाहरु मात्र सेयर सदस्य, सञ्चालक र कर्मचारी रहेको दिदिबहिनी सहकारी वि.स. २०६८ मा स्थापना भएको हो । आठ सय ६३ जनाको रु. तीन करोड ६५ लाख ६८ हजार सेयर रहेको सहकारीले गत आर्थिक वर्षमा रु. आठ करोड ७५ लाख ३६ हजार नौ सय ४२ बचत र रु. आठ करोड ३२ लाख ९२ हजार आठ सय ९४ लगानी गरेको थियो ।

विभिन्न शिर्षकमा रु. एक करोड ९५ लाख सात सय ४५ कुल आम्दानी र रु. एक करोड ८६ लाख २४ हजार आठ सय खर्च गरेको सहकारीले रु. आठ लाख ३८ हजार आठ सय १५ संचालन बचत गरेको कोषाध्यक्ष कमला खत्री घर्ति क्षेत्रीले जानकारी गराउनुभयो ।
संस्थाले आगामी २०८३ असार सम्म शेयर पुँजी बढाएर रु. चार करोड पु¥याउने, बचत १० करोड र ऋण लगानी ११ करोड तथा सम्पत्ती रु. २० करोड पु¥याउने योजना साधारणसभाले पारित गरेको छ ।

विभिन्न बिधामा बचतकर्ता, ऋणी सेयर सदस्यहरु र उत्कृष्ट कर्मचारीका रुपमा प्रबन्धक समिक्षा ढुङ्गानालाई सम्मान गरिएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष जमुना आचार्यले सहकारी सम्बन्धी बर्तमान नीतिगत ब्यवस्था, समस्या र समाधानको उपायका विषयमा प्रशिक्षणत्मक मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, सचिव अम्बिका श्रेष्ठको सञ्चालन र उपाध्यक्ष जगतकुमारी खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सेयर सदस्य अम्बिका ढुङ्गाना, नियमित बचतकर्ता सारिका थापाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । मुठ्ठीदान कार्यक्रम अन्तर्गत तीन जना विपन्नलाई खाद्यान्न तथा नगद सहयोग गरिएको छ ।