---Advertisement---

सिङ्गा तातोपानीमा महिलाहरुलाई अचार बनाउने तालिम सुरु

On: September 7, 2025 8:57 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका ४ नम्बर वडा सिङ्गा तातोपानीमा शनिवारदेखि महिलाहरुलाई अचार बनाउने तालिम सुरु भएको छ । ‘सिप सिकौं स्वरोजगारसँगै व्यवस्थित व्यवसाय सञ्चालन गरौं भन्ने नारासहित ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित नेकपा एमाले जिल्ला कमिटी म्याग्दी र बेनी नगरपालिका कमिटीको समन्वय तथा बेनपा ४ नम्बर वडा कमिटीको आयोजनामा तालिम चलाइएको छ । तालिमले महिलाहरुको सिप र क्षमताको पहिचान गर्ने अपेक्षा गरिएको छ ।

अचार बनाउने निःशुल्क तालिमको उद्घाटन गर्दै नेकपा एमाले बेनी नगरपालिका कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले महिलाहरुलाई सिप सिकाएर पेशा तथा व्यवसायमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले पार्टीको नीति तथा सिद्धान्त अनुसार हरेक नेता एवं कार्यकर्तालाई पेशा, व्यवसाय र उत्पादनसँग जोड्ने रहेको बताउँदै स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर अर्गानिक अचार उत्पादनको कार्यलाई जोड दिइएको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत रहनुभएका एमाले नगर कमिटी अध्यक्ष कटुवालले पछिल्लो समय मानिसहरुले बजारमुखी सामानहरुको प्रयोग बढाइरहेको अवस्थामा गाउँको उत्पादन कम हुँदै गएकाले यसको प्रचारप्रसारसँगै उत्पादनमा वृद्धि गर्नेगरी नगर कमिटीको पहलमा अचार बनाउने तालिमको अवधारणा अगाडि सारिएको जानकारी दिनुभयो । उहाँले तालिममा सक्रियतापूर्वक सहभागी भएर तालिम सिकेपछि बजारमा आउने विभिन्न खालका अचारहरुको प्रयोगको सट्टा स्थानीयस्तरमा उपलब्ध हुने स्रोतसाधनहरुको प्रयोग गरेर लोकल तथा अर्गानिक अचार उत्पादनमा ध्यान दिन सहभागीलाई सुझाव दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा महिला उद्यमी एवं प्रशिक्षक धनकुमारी रानाले लोकल अचार उत्पादन सम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको साथै सहजीकरण गरिरहनुभएको छ । तालिमको उद्घाटनसत्र एमाले वडा कमिटी अध्यक्ष तुलप्रसाद श्रेष्ठको अध्यक्षता, सहसचिव सीता घलेको स्वागत र निवर्तमान अध्यक्ष ईश्वरसिङ खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा स्थानीय ४० जनाभन्दा बढी महिलाहरुले सहभागिता जनाएका छन् ।

तालिम उद्घाटनसत्रमा एमालेको जिल्ला कमिटी र नगर कमिटीका नेताहरुको समेत उपस्थिति रहेको थियो । तालिममा जुनसुकै विचार बोक्ने तथा पार्टीमा आस्था राख्नेहरुलाई पनि सहभागी हुन आह्वान गरिएको छ । अचार उत्पादन तालिमका सहभागीहरुले कुण्डमा स्नान गर्न तथा तातोपानी क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुलाई समेत अर्गानिक अचारको स्वाद चखाउने तयारी समेत गरेको बताएका छन् ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ नम्बर वडामा पर्ने तातोपानी कुण्ड नेपालकै चर्चित र स्वास्थ्यको दृष्टिकोणले उत्कृष्ट तातोपानी कुण्डको रुपमा रहेको छ । यहाँ हरेक वर्ष स्वदेश तथा विदेशबाट हजारौंको सङ्ख्यामा बिरामी, सर्वसाधारण र पर्यटकहरु आउने गर्दछन् 

Leave a Comment