जीवनमा आउने समस्याहरूले हामीलाई बारम्बार चुनौती दिन्छन् । हरेक समस्या, सानै किन नहोस्, हाम्रो धैर्यता, आत्मबल र समझदारीको परीक्षा लिइरहे झैँ लाग्न सक्छ । समस्या भनेको के हो त ? अब यो बुझ्नुस् कि समस्याले नयाँ अवसर पनि साथसाथै लिएर आएको छ । समस्या भनेको तपाईँको द्वारमा आएर चेतनाको सन्देश दिन आएको पाहुना हो । हरेक समस्या, हरेक चुनौती एउटा निम्तो हो– तपाईँलाई भित्री गहिराइको दर्शन गराउन, तपाईँको बुझाइलाई झकझक्याउन । तर हरेक पटक हामी समस्यालाई भोग्दा नकारात्मक ऊर्जा, भय र निराशाले घेरिन्छौँ । किन? किनभने समस्या बाहिर होइन, हाम्रो दृष्टिकोणमा मात्र अवस्थित छ । समस्याले आफूलाई न त दुःखको रूपमा अर्थ दिन्छ, न त सन्तापको रूपमा । यो हामी आफैँले त्यसलाई कसरी लिन्छौँ भन्ने कुरा हो ।
सोच्नुस् – हरेक समस्या, हरेक असहज परिस्थिति हामी भित्रै कतै निहित अवसरको बीज हो । समस्या केवल सतहमा आएको छ; यसको गहिराइमा एक सम्भावना छ, एक मार्ग छ, एक नयाँ खोज छ । तर, हामी मात्र बाहिरी अवरोध देख्छौँ, र यसलाई समाप्त पार्न चाहन्छौँ । समस्यालाई समाप्त पार्न खोज्नु भनेको एउटा विशाल पर्वतलाई केवल पन्छाउन खोज्नुजस्तो हो; तर त्यसलाई पार गर्नु भनेको जीवनको नयाँ शिखरतर्फ अघि बढ्नु हो । समस्या तपाईँको चेतनामा एउटा सन्देश हो – “म आउनेवाला परिवर्तनको सङ्केत हुँ । म नयाँ सुरुवातको प्रतीक हुँ ।”
ओशो भन्नुहुन्छ, “समस्या जीवनको वास्तविक स्वरूपको मात्र परिचायक हो ।” जसरी नदी आफ्नो बहावमा रुकावट आउँदा आफैँले नयाँ मार्ग बनाउँछ, जीवनमा पनि जब समस्या आउँछ, तब तपाईँले त्यसलाई एक चुनौतीको रूपमा मात्र नभई सम्भावनाको रूपमा स्वीकार गर्नुपर्छ । समस्या भनेको तपाईँको चेतनाको नयाँ तहलाई उजागर गर्ने माध्यम हो । हरेक समस्या हामीलाई हाम्रो भित्री शक्ति र धैर्यको पहिचान गराउने संयोग हो । समस्याले तपाईँलाई तपाईँको निष्क्रियता र जडता छोडेर नयाँ गति दिन आएको छ । यो तपाईँलाई झक्झक्याउने एउटा अवसर हो, तपाईँलाई तपाईँको वास्तविक सामथ्र्यसँग परिचित गराउने निम्तो हो ।
जसरी घाम र पानीको आवश्यकताले माटोभित्रको बीउलाई बिरुवामा बदल्न सहयोग पु¥याउँछ, त्यस्तै समस्या पनि जीवनको विकासको लागि अपरिहार्य हो । आफ्नो गहिरो शक्तिलाई अनुभूत गराउने र तपाईँको चेतनाको दायरा बढाउने हो भने, समस्या तपाईँको गुरु बन्न पुग्छ । यसको अगाडि खडा भएर तपाईँ आफ्नो भित्री साहस र आत्मविश्वासलाई जागृत गर्न थाल्नुहुन्छ । समस्या स्वयम्मा कुनै दुःख होइन; यो तपाईँको भित्री क्षमता, तपाईँको अज्ञात क्षमता खोज्नको लागि आएको रहस्य हो । हरेक समस्याले एउटा प्रश्न सोध्छ; के तपाईँ यसलाई अवसरको रूपमा स्वीकार्न तयार हुनुहुन्छ ?
जीवनको यो प्रक्रिया केवल एक सतहको यात्रा होइन, यो एउटा गहिरो आत्मिक यात्रा हो । जब हामी समस्यालाई अवसरका रूपमा लिन सिक्छौँ, हरेक चुनौतीलाई आफ्नै शिक्षाका रूपमा आत्मसात् गर्न थाल्छौँ । समस्या आउने भनेको जीवनले तपाईँलाई जागरुक बनाउन खोजिरहेको सङ्केत हो । समस्या बाहिर होइन, यो तपाईँको भित्रको एक अवस्था हो । यो बाहिरी परिस्थिति मात्र होइन; यो तपाईँको भित्री पर्खाललाई हल्लाउन आएको एउटा सन्देश हो । समस्या जीवनको द्वारमा एउटा सन्देशवाहकको रूपमा आएको छ, जसले भन्छ, “मैले तिमीलाई अझ सशक्त बनाउन, तिमीलाई आफ्नै सामथ्र्यसँग परिचित गराउन आएको छु ।”
त्यसैले, समस्या आएमा त्यो सङ्कट होइन, यो नयाँ आरम्भको सङ्केत हो । समस्या तपाईँको भित्रको निद्रामा रहेको शक्तिलाई उजागर गर्न आएको छ । यसलाई विस्थापनको रूपमा होइन, बरू परिवर्तन र परिपक्वताको नयाँ सुरवातको रूपमा लिऊँ । हरेक समस्या एक पाठ हो, जहाँ तपाईँले आत्मविकासको नयाँ पाटो भेट्नुहुन्छ । यो बाहिर होइन, तपाईँको भित्रको शान्ति, तपाईँको सन्तुलनलाई चुनौती दिन आएको अवसर हो । जब तपाईँ समस्यालाई चुनौती होइन, अवसरको रूपमा लिन थाल्नु हुन्छ, तब यो तपाईँको चेतनाको विकासको लागि एक अविस्मरणीय यात्रा बन्न पुग्छ ।
यसरी जीवनमा समस्या आएमा तपाईँ डर होइन, तपाईँको मनमा एक नयाँ समझ र नयाँ अवसरको उज्यालो देख्न सक्नुहुन्छ । हरेक समस्या नयाँ सुरुवात हो, हरेक अवरोध एक अवसरको उदय हो । जीवनमा समस्या आयो भने सोच्नुहोस्, तपाईँलाई आत्मचेतनाको गहिराइमा झुल्काउन एउटा नयाँ द्वार खुलेको छ ।