म्याग्दी बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा अध्ययनरत बेनी नगरपालिका–९,की श्रेया श्रेष्ठले टिम्मुर खेतीका लागि विश्वविद्यालय अनुदान आयोगबाट उद्यमशिलता विकास कार्यक्रमबाट बिनाव्याज ऋण अन्तर्गतको पहिलो किस्ताको रकम बिऊ पुँजीस्वरुप चारलाख ३२ हजार रुपैयाँ पाइन् ।
म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीमा पाइनेटिम्मुर खेती,प्रशोधन र बजारीकरणका लागि प्रस्ताव पेश गरेका थिए। ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाका बारेमा श्रेया र श्रीकृष्णले विभिन्न चरणमा ब्यवसायीक योजना सहित प्रस्तुत गरेका थिए ।
म्याग्दीमा टिम्मुर खेती हुने क्षेत्रमा जन्मिएकी श्रेयाले १० बर्षका लागि २० रोपनी जग्गा भाडामा लिएर डेढ सय टिम्बुरको बिरूबा समेत लगाइसकेकी छन् । ‘हाम्रो क्षेत्रमा टिम्बुर हुन्छ,हामीले टिम्बुर खेतीका लागि प्रस्ताब प्रस्तुत गरेको थिए,यसमा क्याम्पसको साथले सफलता प्राप्त ग¥यो’ श्रेयाले भनिन् । उनले पहिलो किस्ताबापत प्राप्त अनुदानले नयाँ बिरूबा विस्तार गर्ने,जग्गा ब्यवस्थापन सहित आवश्यक क्षेत्रमा खर्च गर्ने बताइन् । दुई जनाको संयुक्त परियोजना छनोट भए पनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उनले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने विद्यार्थी बिच सहमति भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको २४औँ क्याम्पस सभाको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पहिलो किस्ताको रकम हस्तान्तरण गरेका थिए । श्रेयाले किस्ता–किस्तामा सात लाख २० हजार बिनाव्याज ऋण पाएकी छन् । विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले हालै आयोजना गरेको उद्यमशीलता तालिममा १३ जना विद्यार्थीले आ–आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए । बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको टोलीले अन्तर्वार्ता माध्यमबाट छनोट गरेका पाँच प्रस्तावलाई आयोगमा सिफारिस गरिएको क्याम्पसका उद्यमशीलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदीले बताए ।

उक्त प्रस्तावमा उद्यमशिलता सहायता परियोजनाका लागि १८ वटा क्याम्पसका विद्यार्थीको प्रस्तुतीकरणबाट विश्व विद्यालय अनुदान आयोगको उद्यमशीलता सहायता कार्यक्रमअन्तर्गत विभिन्न प्रक्रिया पूरा गरेर छनोट भएका परियोजनालाई ऋण उपलब्ध गराएका संयोजक सुबेदीले बताए । ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशीलता प्रवद्र्धन कोषमा राखिने छ । आयोगले गतवर्ष उपलब्ध गराएको रु १५ लाख बजेटबाट क्याम्पसले विद्यार्थी र उद्यमीलाई दुई महिना तालिम दिएको थियो ।
क्याम्पस प्रमुख श्रीधर सुबेदीले पहिलो प्रयासमा प्राप्त सफलतालाई सदुपयोग गदैं छनौट भएकी विद्यार्थीले उत्पादनको आम्दानी गर्न थालेपछि किस्ताबन्दीमै फिर्ता गर्नुपर्ने बताए । ‘हामीले पनि नियमित अवलोकन गछौं, आवश्यक परेमा सहयोग हुन्छ, यो बिउ पुँजी मानेर अन्य विद्यार्थीको परियोजनामा लगानी गरिन्छ’ प्रमुख सुबेदीले भने ।
प्रमुख सुबेदीले विद्यार्थीको उद्यमशीलता विकासमा परिचालनजस्तै धेरै आयआर्जनसँग सम्बन्धित योजना, क्षमता विकास लगायतका क्षेत्रमा क्याम्पसले सहयोग गर्ने बताए । ४० घण्टाको पाठ्यक्रममा आधारित उद्यमशीलता तालिममा छनोट भएका विद्यार्थीले तालिम अवधिभर सैद्धान्तिक ज्ञान, अध्ययन अवलोकन भ्रमण, विषयविज्ञ र सफल उद्यमीहरूसँग साक्षरता सहितका विभिन्न कार्यक्रम गरिएको थियो । क्याम्पसका विद्यार्थीले व्यावसायिक योजनामा टिम्बुर खेती, सुन्तला खेती, मौरीपालन, गार्मेन्ट उद्योग, ट्राउट माछापालन, नेपाली कागज निर्माण, अल्लोको व्यावसायिक खेती र प्रशोधन उद्योग, बंगुरपालन, बाख्रापालन, फुटसल लगायतका प्रस्तुत गरेका थिए ।