---Advertisement---

श्रमदानबाट सडक मर्मत

On: September 12, 2025 9:52 AM
Follow Us:

अन्नपूर्ण गाउँपालिका-८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी-राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् । राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले बिहीबार करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरेका जानकारी दिए ।

“करिब दुई महिनादेखि नागी-राम्चे सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतका साथै आलुलगायत कृषि उपज बजार पठाउन समस्या भएको थियो”, उनले भने, “सरकारी निकायको आश गर्दा ढिलाइ हुने भएकाले राम्चेका सबै घरबाट एक-एक जनाले श्रमदान गरेर सडक खुलाएका हौँ ।”

पहिरोसँगै भासिएको करिब सात मिटर दूरीको सडकमा जगदेखि नै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाएको गर्बुजाले बताए । अन्नपूर्ण गाउँपालिका-७ महभिरदेखि हिस्तान-काफलडाँडा हुँदै राम्चे जोड्ने सडक घुमाउँरो र जोखिमयुक्त भएकाले राम्चेवासीले सदरमुकाम बेनी आवतजावत गर्न नागी–लेकफाँट-मल्लाज–बेनी सडक प्रयोग गर्छन् ।

अन्नपूर्ण गाउँपालिका–८ को कार्यालय राम्चेमा छ । राम्चे आलुको पकेट क्षेत्र हो । सडक अवरुद्ध हुँदा नागीका बासिन्दालाई राम्चेमा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीको सेवा लिन आवतजावत गर्न समस्या भएको थियो । सडक अवरुद्ध भएपछि समस्यामा परेका नागीमा रहेको हिमाञ्चल माविमा पढ्ने राम्चे, काफलडाँडाका विद्यार्थीलाई पनि सहज भएको छ ।

Leave a Comment