अन्तरिम सरकारका लागि छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ९ बजे बोलाएको बैठकको समय दिउँसो २ बजेका लागि सारिएको छ।
आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी आन्दोलनले अन्तरिम सरकारको नेतृत्वका लागि अगाडि सारेसँगै नेपालले पहिलो पटक महिला सरकार प्रमुख पाउने सम्भावना बलियो बनेको छ।
तर संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि बिहीबार राति अबेरसम्म शितल निवासमा बसेको बैठक निष्कर्षविहीन भयो। जेनजी पक्ष संसद् विघटनलाई अनिवार्य ठान्दा, परम्परागत दलहरू र राष्ट्रपति रामचन्द्र पौडेल भने संसदबाटै राजनीतिक निकास खोज्नुपर्ने पक्षमा अडिग देखिए।
राष्ट्रपति कार्यालयका स्रोतका अनुसार छलफल टुंगिए पनि शुक्रबार बिहान पुनः वार्ता बस्ने सहमति गरिएको थियो। यसअघि बुधबार नेपाली सेनाको जंगीअड्डामा भएको भेटमा जेनजी प्रतिनिधिले कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा प्रस्ताव गरेका थिए। प्रधानसेनापति अशोकराज सिग्देलमार्फत सो प्रस्ताव राष्ट्रपति पौडेलसम्म पुगेपछि बिहीबार अबेरदेखि राष्ट्रपतिले नयाँ सरकार गठनबारे राजनीतिक दलका नेताहरूसँग परामर्श सुरु गरेका छन्।