सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन् ।
जारी विज्ञप्तिमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं ।’
भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले स्तब्ध बनाएको उल्लेख गर्दै घाइतेको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरिएको छ ।
‘आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गर्दछौं ।’
