म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) मलेसियाको तेस्रो महाधिवेशनबाट बेनी नगरपालिका–३,भकिम्लीका प्रकाश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सन्तोष सरगम खाती,उपाध्यक्षद्धय संजय साही,जोग लाल पुन,महासचिवः केश रोका मगर,सचिव बिकास रोक सहसचिव टोक नाथ रिजाल,कोषाध्यक्षः दुर्गा रोका मगर,सह–कोषाध्यक्ष मिलन बोहोरा,महिला उपाध्यक्षः रेजिना गुरुङ रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा आकाश वर्देवा,बिकास बोहरा,दिनेश घर्ती,बिकास श्रीपाली,लोक बहादुर बोहरा, जय बहादुर शिरीष मगर रहनुभएको महासचिव केश रोका मगरले जानकारी दिनुभयो । अधिवेशनमा एनआरएन मलेसियाको अध्यक्ष इन्द्रनारायण लिम्बुले मलेसियामा रहेका नेपाली संघसंस्थामा मोनाले आफ्ना सदस्यको संरक्षण तथा विभिन्न गतिविधिमार्फत उत्कृष्ट काम गरेको बताउनुभयो ।
सोही अवसरमा विशिष्ट अतिथि मोना मलेसियाका संस्थापक अध्यक्ष रामचन्द्र केसीले रोजगारको सिलसिलामा मलेसियामा मृत्युवरण गरेकाको प्रक्रिया, बिरामीलाई आर्थिक सहयोगमा संस्थामार्फत निरन्तर काम भइरहेको बताउँदै मलेसियामा आउने म्याग्देलीले मोनाको सदस्यता लिन अनुरोध गर्नुभयो । अधिवेशनको अवसरमा मलेसियामा रहेका विभिन्न नेपाली संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

निर्वतमान अध्यक्ष रोकाले आफ्नो कार्यकालमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने तथा विभिन्न मानवीय सेवामा सक्रिय हुनेलाई धन्यवाद दिनुभयो । मोना मलेसियाका अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष दुर्गा रोकाको स्वागत र सचिव प्रकाश केसीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच नवनिर्वाचित अध्यक्ष केसीले विगतका कार्यहरुलाई निरन्तरता दिदैं मोनाको सदस्यता विस्तार सहित म्याग्देलीको हित हुने कार्यलाई उच्च प्राथमिकता दिने बताउनुभयो । हाल मोना मलेसियामा साढे दुईसयभन्दा बढी म्याग्देलीले सदस्यता लिएका छन् ।




