बेनी–जोमसोम–कोरला सडक खण्डमा सुख्खा पहिरो नेपाली सेनाले ब्लास्टिङ गरेर पन्छाउने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सँग सिमान जोडिएको मुस्ताङको थासाङ गाउँपालिका–४ मा पर्ने काभ्रेभीरमा सडकमाथिबाट ठुलाठुला ढुङ्गा खसेपछि आइतबार दिनभरी मेसिनले पन्छाउन नसकिएपछि ‘ड्रिलिङ’ थालिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बेनीअनलाइनलाई बताउनुभयो ।
सडकखण्डमा चार–पाँच वटा ठुला ढुङ्गा हटाउन नेपाली सेनाको इन्द्रबक्स गणले ब्लास्टिङको काम सुरु गरेपछि सडक नियमित सञ्चालनमा आउने प्रजिअ भुषालको भनाई छ । सडकमा ठुलाठुला ढुङ्गा खसेकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएको कालिगण्डकी करिडोरले जिल्ला सुरक्षा समितिसँग अनुरोध गरेको थियो ।
Advertisement

ड्रिल गर्ने मेसिनसहित विस्फोटक पदार्थ लिएर नेपाली सेनाको टोली साइडमा पुगिसकेको अवस्थामा सोमबार साँझसम्म सडक सञ्चालनमा आउने अनुमान गरिएको छ ।उक्त क्षेत्रमा सडक विस्तार तथा अवरुद्ध हुँदा पटकपटक विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।
सडक अवरुद्ध भएपछि उत्तरी म्याग्दी हुँदै मुस्ताङ जाने र मुस्ताङबाट फर्किने स्थानीयवासी, पर्यटक र सोह्र श्रद्धामा कागबेनी जाने धार्मिक तिर्थयात्रुलाई समेत पटकपटक सडक अवरुद्ध हुदाँ सास्ती भोग्नुपरेको छ ।