अहङ्कार एउटा यस्तो अदृश्य पर्खाल हो, जुन हामीलाई अरूसँग, हाम्रो उद्देश्यसँग र अन्ततः हामी आफैँसँग टाढा राख्छ । सुरुमा अहङ्कारको प्रभाव सायद महसुस हुँदैन, किनकि यो सानो सानो सोचको रूपमा जन्मिन्छ “म नै सही छु,“ “मेरो विचार मात्र ठिक हो,“ या “मलाई अरूलाई भन्दा राम्ररी थाहा छ ।” यो सोचाइ सायद सुरुमा एकदमै सामान्य लाग्न सक्छ, तर विस्तारै यसले हाम्रो सम्बन्ध, हाम्रो प्रगति र हाम्रो आध्यात्मिक यात्रा सबैलाई एक एक गर्दै प्रभावित गर्न थाल्छ । यसको प्रभावले हामीलाई चुपचाप त्यस दिशातर्फ लैजान्छ, जहाँ हामीलाई लाग्छ कि सबै कुरा हाम्रो नियन्त्रणमा छ, तर वास्तविकता भने ठीक उल्टो भइसकेको हुन्छ ।
अहङ्कारले सबैभन्दा पहिले हाम्रो सम्बन्धहरूमा असर पु¥याउँछ । दैनिक जीवनमा हामी जोसँग अन्तरक्रिया गर्छौं, चाहे त्यो परिवारका सदस्य हुन्, साथीभाइ हुन्, या सहकर्मी, सबैसँगको सम्बन्धमा अहङ्कारले एक प्रकारको अदृश्य पर्खाल खडा गर्न थाल्छ । अहङ्कारको प्रभावले गर्दा हामी सधैँ आफ्नो विचारलाई मात्रै सत्य र सही ठान्न थाल्छौँ, जसले गर्दा अरूको दृष्टिकोणलाई सहृदयता र इमानदारीसाथ सुन्ने क्षमतामा कमी आउँछ । यो प्रवृत्तिले अरूका भावनालाई हेप्छ, उनीहरूको दृष्टिकोणलाई कम आँक्छ र अन्ततः उनीहरूलाई हामीसँगको सम्बन्धमा टाढिदै गएको अनुभूति गराउँछ । सम्बन्ध भनेको दुईतर्फी सम्झौता र समझदारीमा आधारित हुन्छ, जहाँ सम्मान र विश्वासको जरुरी हुन्छ । तर अहङ्कारले हामीलाई सधैँ अरूभन्दा माथि राख्न खोज्छ । यस्तो सोचाइले हामीलाई सम्बन्धको गहिराइ बुझ्न र यसको सुन्दरता अनुभूत गर्न असमर्थ बनाउँछ ।
अहङ्कारले हाम्रो व्यक्तिगत प्रगतिमा झनै गहिरो प्रभाव पार्छ । हामीले आफ्नो कमजोरीहरूलाई खुलेर स्वीकार्नुपर्छ र नयाँ दृष्टिकोण तथा परिवर्तनलाई आत्मसात् गर्नुपर्छ । तर अहङ्कारले हाम्रो मन, मस्तिष्क र दृष्टिलाई सीमित र सङ्कुचित पारिदिन्छ । हामी आफैँलाई “सबै कुरा थाहा छ” भन्ने भ्रममा पार्न थाल्छौँ, जसले नयाँ कुरा सिक्न र परिवर्तनलाई अपनाउन असक्षम बनाउँछ । यसले गर्दा हाम्रो प्रगतिमा स्वाभाविक रूपमा अवरोध उत्पन्न हुन्छ, किनकि हामी अरूको अनुभव र विचारबाट लाभ लिन र आफूलाई नयाँ दृष्टिकोणमा विकास गर्न असफल हुन्छौँ । अहङ्कारले हाम्रो सिकाइको क्षमतामा यस्तो बाधा खडा गर्छ, जसले अन्ततः हाम्रो सम्भावनालाई सीमित पारिदिन्छ । यसरी अहङ्कारले प्रगतिको मार्गमा नदेखिने एउटा अवरोध खडा गर्छ, जहाँ हामी केवल आफ्नै सीमित दायरामा थन्किरहन्छौँ र जीवनको वास्तविक प्रगति र समृद्धिबाट दूरी बनाइराख्छौँ ।
अहङ्कारले आध्यात्मिक यात्रामा कसरी अवरोध खडा गर्छ भन्ने कुराको गहिरो विश्लेषण नगरी यो लेख पक्कै अधुरो नै हुनेछ । यो अवरोधको प्रकृति एकदमै सूक्ष्म र गहिरो छ, जुन बाहिरबाट सायद देखिन्न, तर हाम्रा सोच, भावना र चेतनाको स्तरमा गहिरो प्रभाव पार्छ । आध्यात्मिक यात्रामा हाम्रो मुख्य उद्देश्य भनेको आफ्नो आन्तरिक स्वरूपलाई चिन्नु र अस्तित्वसँग एकाकार हुनु हो । तर अहङ्कारले यस यात्रामा अनेक भ्रामक अवरोध खडा गर्छ, जसले हामीलाई बाहिरी पहिचान र नाम–प्रतिष्ठामा मात्रै केन्द्रित गराउँछ ।
अहङ्कारले हामीलाई बारम्बार यो विश्वास दिलाउँछ कि हामी बाहिरी भूमिका, उपलब्धि या यशले परिभाषित भएका हौँ । यसले हाम्रो चेतनामा एउटा भ्रमको पर्दा खडा गरेर हामीलाई ‘मैले हासिल गरेको छु,’ ‘म जान्दछु,’ र ’म अरूभन्दा विशेष छु’ भन्ने अहम्को बन्धनमा जकडेर राख्छ । जब हामीले यी बाहिरी पहिचानलाई आफ्नो असल अस्तित्व ठान्न थाल्छौँ, तब आत्मज्ञानको यात्रामा पाइला चाल्दै गर्दा पनि यो ‘म’ भन्ने भावले हामीलाई हाम्रो चेतनाको वास्तविक गहिराइमा पुग्नबाट रोक्छ । अहङ्कार आत्मसाक्षात्कारको बाटोमा नदेखिने अवरोधको रूपमा ठडिन्छ ।
आध्यात्मिक यात्राको सार भनेको समर्पण र एकाकार हुनु हो । यो एकता त्यहीँ प्राप्त हुन्छ जहाँ ‘म’ भन्ने अहम् विलीन हुन्छ र अस्तित्वसँगको एकत्वको अनुभव जागृत हुन्छ । तर अहङ्कारले हामीलाई बाहिरी पहिचानमा मात्रै केन्द्रित गराउँछ, जसले हामीलाई अरूसँग र अस्तित्वसँग एकाकार हुन असमर्थ बनाउँछ । अहङ्कारको प्रभावले हामी आफूलाई अस्तित्वको एउटा अंशको रूपमा होइन, पृथक् र विशेष अस्तित्वको रूपमा हेर्न थाल्छौँ । यसले हामीलाई हर कदममा टाढा राख्छ, जसले गर्दा हाम्रो यात्रा अधुरो नै रहन्छ ।
अहङ्कारको सबैभन्दा घातक अवरोध भनेको यसले आत्मज्ञानको क्षमतामा समेत असर पार्नु हो । जब हामीले यो मान्न थाल्छौँ कि हामीले सबै कुरा जानिसकेका छौँ, तब हाम्रो मनले अरूलाई बुझ्न र ग्रहण गर्न अस्वीकार गर्छ । यो विचारले हाम्रो चेतनालाई साँघुरो बनाउँछ, जसले नयाँ सिकाइ र अनुभूतिको लागि कुनै स्थान बाँकी राख्दैन । आध्यात्मिक मार्गमा यो ठूलो भूल हो किनकि वास्तविक प्रगति भनेको निरन्तर नवीकरण र खुलापनमा हुन्छ ।
अहङ्कार जीवनको हरेक पाइलामा एउटा अवरोधको रूपमा खडा हुन्छ । सम्बन्धहरूमा यसले दूरी र तिक्तता ल्याउँछ, व्यक्तिगत प्रगतिमा यो ठेस बन्छ र आध्यात्मिक यात्रामा यसले हामीलाई हाम्रो साँचो अस्तित्वबाट अलग राख्छ । जबसम्म हामीले अहङ्कारलाई चिन्दैनौँ र यसलाई नियन्त्रणमा राख्न सक्दैनौ, तबसम्म यो हाम्रो हरेक यात्रा, हरेक सम्बन्ध र हरेक आत्मिक अनुभवमा बाधा बनिरहन्छ । अहङ्कारको पासोबाट मुक्त नभएसम्म हामी जीवनको वास्तविक गहिराइ र आनन्दको अनुभूति गर्न असमर्थ नै रहन्छौँ ।