---Advertisement---

चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा बुढामगर प्रथम

On: September 15, 2025 6:17 PM
Follow Us:

जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी सिमा बुढामगर प्रथम हुनुभएको छ ।

म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन नेटाकी कक्षामा ११ मा अध्ययनरत बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्धितिय र न्यु वेष्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतिय हुनुभएको छ । प्रतियोगितामा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।


सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवा झनै अत्यावश्यक भएकाले ‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ शिर्षकमा आयोजित प्रतियोगितामा जिल्ला हुलाक कार्यालय,अतिरिक्त हुलाक कार्याल तथा पालिका हुलाक कार्यालयबाट विद्यार्थीले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिठ्ठी पठाएका थिए ।

आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न आयोजित प्रतियोगिताले विद्यार्थीलाई हुलाक सम्बन्धित महत्वका बारेमा जानकारी भएकाले आगामी दिनमा पनि यस्ता रचनात्मक प्रतियोगिताको आवश्यकता रहेको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम,द्धितिय र तृतियले क्रमश ७५ सय, ४ हजार र २५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत विद्यार्थीलाई एक कार्यक्रम गरी पुरस्कार वितरण गरिने छ ।

Leave a Comment