जिल्ला कारागार कार्यालय म्याग्दीमा तोडफोड गरेर त्यहाँ रहेका थुनुवा र कैदीबन्दी भगाउने विभिन्न छ जना पक्राउ परेका छन् । गएको बुधवार बिहान कारागार कार्यालयमा केही अपरिचित व्यक्तिहरुको समूहले कारागार कार्यालयको मूल ढोका फोडेर कैदीबन्दी भगाउने कार्यमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कारागार परिसरभित्र अनधिकृत रुपमा प्रवेश गरी त्यसभित्र रहेका ८८ जना कैदीबन्दीहरुमध्ये ७६ जना पुरुष कैदीबन्दीलाई भगाइएको थियो । कैदीबन्दी भगाउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारागार ऐन २०७९ विपरीतको कसुरमा म्याग्दी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको बेनी नगरपालिका २ खबरा बस्ने २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा १ रत्नेचौर बस्ने २६ वर्षीय कृष्णबहादुर मगर, खबरा बस्ने २७ वर्षीय सुनिल थापामगर, ३१ वर्षीय सुसन थापामगर र १९ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पौडेलले बताए । उनले कारागारभित्र रहेका थुनुवा तथा कैदीबन्दी भगाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत तीव्र रुपमा खोजीकार्य भैरहेको जानकारी दिए ।
यसैबीच जिल्ला कारागार कार्यालय म्याग्दीबाट भागेका ७६ जना कैदीबन्दीमध्ये हालसम्म ६२ जनालाई प्रहरीले कारागारमै फर्काएको छ । म्याग्दी कारागार कार्यालयमा गएको भदौ २५ गते बिहान कैदीबन्दीहरुले तालाचाबी फुटाएर ७६ जना कैदीबन्दीहरु भागेका थिए ।
मलवारसम्म भागेका कुल कैदीबन्दीमध्ये ६२ जनालाई पक्राउ गरी पुनः जिल्ला कारागार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पौडेलले बताए । गत भदौ २३ र २४ मा जेनजी समूहको नाममा काठमाडौँसहित देशैभर भएको प्रदर्शनको क्रममा कारागार कार्यालयमा आन्दोलनकारीहरुबाट तोडफोड हुँदा थुनुवा र कैदीबन्दीहरु भागेका थिए ।
सो क्रममा केन्द्रीय कारागार कार्यालय काठमाडौँ र कास्कीबाट भागेका तीन जनालाई नियन्त्रणमा लिएर कारागार पठाइएको छ । कैदी भगाउनेलाई कारवाही कारागार ऐन, २०७९ अनुसार कैदीबन्दीलाई भगाउन सहयोग गर्नेलाई ३ बर्ष कैदी र ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।