---Advertisement---

किसानलाई आलु भित्र्याउने भ्याइनभ्याई

On: September 19, 2025 9:39 AM
Follow Us:

बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्राउने चटारोमा छन् । जिल्लाको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्राउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्राउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलु खेती गर्दै आएका छन् ।

आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सिप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवा लगायतका स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरके वर्ष बागलुङमा रु एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैत महिनामा आलु लगाउने र असोज पहिलो सातासम्म भित्राउने गर्छन् । यति बेला ढोरपाटनका अधिकांश किसान आलु भित्राउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताउनुभयो ।

एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानहरुले धमाधम आलु भित्राउने काम गरि रहेको उहाँले बताउनुभयो । आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाउनुभयो । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्राई सक्ने उहाँ बताउनुहुन्छ ।

सुनारले भन्नुभयो – “ढोरपाटनमा धेरै वर्ष अगाडिदेखि आलु खेती हुँदै आएको थियो, अहिले थप व्यवस्थित रुपमा जग्गा चक्लाबन्दीनै गरेर व्यवसायिक रुपमा खेती गर्न थालेका छौँ, परम्परागत खेती प्रणालीसँगै नयाँ प्रबिधिको पनि प्रयोग गर्न थालेका छौँ, यस वर्ष आलु राम्रो फलेको छ, भदौ लाग्दाबाटै आलु भित्राउनु पथ्र्यो तर लामो वर्षा हुँदा अहिले चटारो छ, यहाँका कोहीलाई पनि यतिबेला फुर्सद छैन, धेरैजसो स्थानीयहरु बारीमा आलु निकाल्दै छन् ।”

निसीखोला गाउँपालिका–६ का स्थानीय कर्णबहादुर घर्तीले निरन्तरको वर्षाले आलु कुहिने जोखिम रहेको बताउनुभयो । आलु भित्राउने समयमा परेको भारी वर्षाले अहिले बल्ल बारीबाट निकाल्न सुरु गरेको उहाँको भनाइ छ । यसपाली आलु लगाउने बेला लामो खडेरी परेको र खन्ने बेलाभारी वर्षा हुँदा उत्पादनमा गिरावट आउने देखिएको घर्ती बताउनुहुन्छ ।

आलु खेती बढाउनका लागि जिल्लाभर क्षेत्र विस्तार गर्न थालिएको छ । बागलुङमा सबै ठाउँमा आलु राम्रो उत्पादन हुने हुँदा कृषि ज्ञान केन्द्रले वर्षेनी लाखौँ लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । उहाँका अनुसार २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ ।

अहिले जिल्लाभर ३ हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गर्ने ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष बढ्ने आँकलन गरिएको प्रमुख सिलवालको भनाइ छ ।

Leave a Comment