संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिको संयोजनमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।
विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्य गोविन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि संविधानको पूर्णरुपमा कार्यान्वयन हुनुपर्ने बताए । दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, निजामती कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।

दिवसको अवसरमा संविधानको रक्षाका लागि सबै पक्षको सक्रियता आवश्यकता रहेको र संविधानको पूर्णपालन भएमा मात्रै सहिदको सपना पूरा हुने बताइएको थियो । जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले संविधान दिवसका अवसरमा प्रभातफेरी कार्यक्रममा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्नुभयो । आज साँझ विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सहभागिताका लागि उहाँले अनुरोध गर्नुभयो ।