जेन्जी आन्दोलनमा विभिन्न अस्पतालमा रहेका घाइतेको उपचारमा रगतको अभाव नहोस् भनेर लायन्स क्लव अफ बेनी लभ्लीहिलले सदरमुकाम बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा प्रदेश अस्पताल बेनीमा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ पिन्ट रगत सङ्कलन गरिएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा सभापति अमर बानियाँले जेन्जी आन्दोलनमा घाईतेसहित जिल्ला बाहिर आवश्यक पर्ने रगतका लागि लायन्सले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । ‘हामीले थप रक्तदान कार्यक्रम आवश्यकता परेमा समन्वय गछौं, रेडक्रसको रक्तसंचार केन्द्रलाई रक्तदाताबाट भइरहेको सहयोगले रक्तदान कार्यक्रम प्रभावकारी भइरहेको छ’ सभापति बानियाँले भन्नुभयो ।

रगतको अभावकै कारण म्याग्दीमा कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरिएको सभापति बानियाँले बताउनुभयो। रक्तदान कार्यक्रममा लायन्सकर्मी, सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो । लायन्स क्लव अफ बेनी लभ्लीहिलका अध्यक्ष ओमप्रसाद शर्माले कास्की सहित देशका विभिन्न जिल्लामा आन्दोलनमा घाईते भएकाहरुको उपचारमा रगतको अभावका बारेमा जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

रक्तदान कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष शर्मा, स्वागत प्रथम उपाध्यक्ष जिवन पौडेल, सञ्चालन सचिव प्रेम नेपालीले गर्नुभएको थियो । लायन्स क्लव अफ बेनी लभ्लीहिलले आगामी दिनमा समेत आवश्यकता परेमा रक्तदान सहितको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् ।