---Advertisement---

बेनीमा संयुक्त बजार अनुगमन, म्याद सकिएका सामानहरु नष्ट गरियो

On: September 20, 2025 9:37 AM
Follow Us:

नेपालीहरुको महान पर्व दसैँ, तिहारलगायत चाडपर्वहरु नजिकिँदै गर्दा म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवार बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघद्वारा बजार अनुगमन गरिएको हो ।

संयुक्त रुपमा आयोजित बजार अनुगमनको क्रममा सदरमुकाम बेनीमा सञ्चालित किराना, खाद्यान्न, डेरी, होटल तथा रेष्टुरेण्ट, व्युटीपार्लर, मासुलगायत विभिन्न २० वटा पसलहरुमा अनुगमन गरिएको आयोजकले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजारको वीरेन्द्रचोक, हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक र कालीपुल क्षेत्रमा सञ्चालनमा रहेका पसलहरुमा अनुगमन र निरीक्षण गरिएको थियो ।

अनुगमन टोलीले बेनीबजारमा सञ्चालित साधना स्टोर्स, मनिष र एसएस स्टोर्स, प्रजिया व्युटीपार्लर, धौलागिरि डेरी, विकल्प किराना स्टोर्स, जनसेवा डेरी, सृजना मःम एण्ड रेष्टुरेण्ट, नयन किराना पसल, अर्जुन सरको तरकारी तथा फलफूल पसल, एलिना किराना पसल, न्यू गुप्ता किराना तथा फलफूल पसलमा अनुगमन गरिएको थियो । यसैगरी सुरेश मासु पसल, छविलाल फिस हाउस, मनकामना बेकरी उद्योग, बिक्की एण्ड लक्की स्टोर्स, सिया किराना र आतिश किराना तथा प्रतिक्षा किराना पसलमा अनुगमन गरिएको छ ।

अनुगमन गरिएका पसलबाट कुल ११ हजार ३५ रुपैयाँ मूल्य बराबरको म्याद सकिएका दैनिक खाद्यान्न उपभोग्य सामग्रीहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो । म्याद सकिएका सामानहरुमा सुजी, कुरकुरे, चिप्स, चिसो पेयपदार्थ कोकाकोला र साईट्रिक एसिड (धेरै अमिलो पदार्थ) जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमन टोलीले कालीपुलस्थित एक पसलमा धेरै अमिलो पदार्थ साईट्रिक एसिड पत्ता लगाएको थियो । उक्त पदार्थ स्वास्थ्यका लागि हानिकारक रहेकाले बिक्री तथा प्रयोग नगर्न सुझावको साथै सिल गरिएको थियो ।

बजार अनुगमन कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम अर्याल, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक ढुङ्गाना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव ठाकुरप्रसाद आचार्य, प्रहरीको टोलीलगायत सहभागी थिए । अनुगमन टोलीबाट पसलहरुहरुलाई नियमित सरसफाइ गर्न, मूल्यसूची र साइनबोर्डको व्यवस्थापन, म्याद सकिएका सामानलाई अलग्गै राख्न र पसल दर्ता एवं नवीकरण गरेर सञ्चालन गर्न सुझाव दिइएको छ ।

यसैबीच म्याग्दी उद्योग वाणिज्य संघले दसैँतिहारलगायत चाडपर्वलाई लक्षित गरेर घटनास्थापनाको दिनदेखि तिहारको भाइटिकाको दिनसम्मका लागि सुपथ मूल्यसूची समेत प्रकाशन गरिएको जनाएको छ । उक्त अवधिमा पसल सञ्चालकले ग्राहकलाई सुपथ मूल्यसूची अनुसार दैनिक उपभोग्य तथा खाद्यान्न सामग्री बिक्री गर्न सुझाव दिइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसका साथै बजारमा भाँडावर्तन, फेन्सी, रङरोगन, फलफूल तथा तरकारी पसलहरुमा पनि दसैँ तिहारको अवधिभर ग्राहकहरुलाई विशेष छुटको साथ सामानहरु बिक्री वितरण गर्न अनुरोध गरिएको छ ।

Leave a Comment