---Advertisement---

पार्टीभित्र निर्मम समीक्षा गरौँ, झण्डा बोकेर आगजनी गर्ने एमाले हुनै सक्दैन

By पदम गिरी
On: September 20, 2025 4:43 PM
Follow Us:

यति बेला देश विषम परिस्थितिमा छ । लामो संघर्षपूर्ण बलिदानीबाट प्राप्त उपलब्धी रक्षा गर्न कठिन भएको अवस्था छ । जनताले संविधान सभाबाट बनाएको संविधान माथि नै धावा बोलेको अवस्थिति छ ।  

जेन-जी प्रदर्शनको आवरणमा स्वार्थ समूहले निहीत स्वार्थ पूरा गर्न चौतर्फी आक्रमण गरेको अवस्थामा हामीले दूरगामी महत्वका विषयलाई आत्मसाथ गरे अघि बढ्नुपर्ने अवस्था छ ।  

दुई दिनमा भएको क्षति, हामीले परिकल्पना गरेको राज्य र हामीले नै तयार पारेको सुरक्षा संयन्त्र कस्तो भन्ने समीक्षा गर्न आवश्यक छ । अब फेरि हामी एकताबद्ध हुँदै राष्ट्रिय समस्या हलको बाटोमा लाग्न पर्छ ।

संविधान जलाउन खोज्नेलाई चिनौँ

आज नेपालको संविधानमाथि कोही देखिएर कोही नदेखिएर, प्रत्यक्ष परोक्ष हिसाबले  अनेककुरामा लुकेर नेपालको संविधान च्यात्नुपर्छ । संविधानलाई जलाउनुपर्छ । संविधान खारेज गर्नुपर्छ ।  र यो संविधान खारेज भयो भने मात्र हाम्रो खेल्ने मैदान खाली हुन्छ । हाम्रा स्वार्थ पूरा गर्ने ठाउँहरू ढोकाहरू खुल्छन् । भन्ने योजनासहित एकथरी शक्तिहरू ठूलो षडयन्त्रका साथ लागेका छन् । यो कुरा सिंगो देशले सुन्नुपर्छ । मनन गर्नुपर्छ ।  

यो संविधान कुनै विदेशीले लेखेको संविधान थिएन । यो संविधान कुनै मुठ्ठिभरका मान्छेले कुनै विज्ञका नाममा लेखिएको संविधान होइन । यो संविधान त नेपाली जनताले आफ्नो हातबाट लेखेको संविधान हो । संविधान सभाबाट जारी गरिएको संविधान हो । यो संविधान तीन करोड नेपाली नेपाली जनताको मत र अभिमतबाट चुनिएका सांसदहरूबाट लेखिएको संविधान हो । त्यसैले तीन करोड नेपालीको अपनत्व यो संविधानमा छ । तीन करोड नेपालीले आफ्नो अनुहार यो संविधानमा देखेका छन् ।  

सबै जाति, धर्म, संस्कृति, भाषा, वर्ग र क्षेत्रका नागरिकको अधिकार यो संविधान भित्र छ । यस्तो उन्नत किसिमको संविधान हामीले जारी गर्‍यौँ ।  

तर आज यो संविधान कुनै हिसाबले खारेज गर्न सकियो भनेदेखि आफ्नो स्वार्थ पूरा गर्न सकिन्थ्यो, नागरिक सर्वोच्चता खारेज गर्न सकिन्थ्यो, जनतामा निहीत सार्वभौमसत्ता हटाएर आफू र आफ्नो स्वार्थमा प्रयोग गर्न सकिन्थ्यो भन्ने तत्वहरू दृश्य अदृश्य रुपमा यसको विरुद्धमा लागेका छन् ।  

यो कुरा हामीले आजका जेन-जी पुस्तालाई राम्रोसँग बताउन र बुझाउन नसक्ने हो भने अर्को ठूलो ‘ब्ल्याक होल’मा देश जान्छ भन्ने कुरा बुझ्न जरुरी छ ।  

यो संविधान च्यातियो भने, यो संविधानलाई खरानी बनाउन सकियो भने, मुलुक त खरानी भयो भयो, यो संविधानलाई खरानी बनाइयो भने नेपालको कुनै दस्तावेजमा चुच्चे नक्सा देखिने छैन । त्यो चुच्चे नक्सा देख्न नचाहने शक्तिहरू व्यक्तिहरू यो संविधान च्यात्न नष्ट गर्न चाहन्छन् ।  

जेन-जीहरूले भ्रष्टाचार विरोधी आवाज उठाउनुभएको हो । देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्‍यो ।  देशमा सुशासन कायम हुनुपर्‍यो । युवाहरूले देशमा रोजगारी पाउने अवस्था सिर्जना हुनुपर्‍यो । सरकारी कार्यालयहरूमा जाँदा सेवा प्रवाह चुस्त दुरुस्त र पारदर्शी हुनपर्‍यो । नागरिकले अनावश्यक दु:ख पाउनु भएन । बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुनुपर्‍यो । यी हामीहरूले नै उठाउँदै आएका मुद्दाहरू जेन-जीहरूले उठाउँदै आउनुभएको हो ।  

जेन-जीका माग सान्दर्भिक छन्, पार्टीको पहिलो मुद्दा बनाऔँ

जेन-जीको यो आवाजलाई हामीले सम्मान गर्नुपर्छ । उहाँहरूको यो माग र मुद्दालाई हामीले ताज जस्तो पहिरिएर हिँड्न सक्नुपर्छ । गर्व गर्नुपर्छ । हाम्रा नवयुवाले राष्ट्रको अग्रगामी विकासमा यस्ता विवेकपूर्ण मुद्दा उठाएर भनेर खुसी पनि हुनुपर्छ । उहाँहरूलाई डिमोर्लाइज गर्ने होइन । जेन-जीको मनोवल गिराउने होइन । जेन-जीका मुद्दा सही छन् भनेर उनीहरूका मुद्दा उठाउने । र त्यस्ता जेन-जीहरूलाई राजनीतिमा सहभागिता बढाउने कुरा हामीले सोच्नुपर्छ । यो आजको समयको आवश्यकता र माग हो ।

जेन-जीले आन्दोलन उठाउँछ । जेन-जीले दिउँसो साढे २ बजे हाम्रो आन्दोलनमा घुसपैठ भयो । अब हामी आन्दोलनबाट फर्कनुपर्छ भन्नुहुन्छ ।  

तर त्यसलाई अर्कैले लिड गरे वितण्डा मच्चाउने, लुटपाट गर्ने जुन काम भएको छ त्यसबाट के बुझिन्छ भने जेन-जीको आवरणभित्र अरु तत्वहरूले आफ्ना योजना अघि बढाए । यस्तो खेल भएको थियो भन्ने कुरा हामीले बुझ्न पर्छ ।  

एकै दिनमा यत्रो ठूलो विध्वंस भयो । हामीले परिकल्पना नै नगरेको क्षति भयो । यस्तो अवस्थामा आफैँलाई प्रश्न गर्नुपर्ने बेला भएको छ । एक दिनको यो विध्वसं पनि रोक्न नसक्ने हामीले कस्तो सुरक्षा संयन्त्र बनाएछौँ ? एक दिन पनि टिक्न नसक्ने हामीले कस्तो राज्य प्रणाली बनाएका रहेछौँ ? यो धेरै गम्भीर विषय हो । यसमा हामीले खुलेर समीक्षा गर्नै पर्छ ।  

तर यहाँ के भएको छ भने, जेन-जीलाई अगाडि राखेर हिंसा मच्चाउने काम भयो । जुन दुर्गा प्रसाईंहरूले चैत १५ गते गरेका थिए । हामीले जेन-जीले भनेको कुरा पहिला सुनेकै थियौँ । उहाँहरूले भन्नुभएको थियो- हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी सडकलाई व्यवस्थित बनाउँदै प्रदर्शन गर्छौँ । हाम्रो एजेण्डा तोडफोड, आजगनी, हिंसा होइन् । हामी हाम्रा माग र मुद्दा आम नागरिकसमक्ष पुर्‍याउन चाहन्छौँ । हाम्रा माग सरकारलाई सम्बोधन गराउन चाहन्छौँ भन्नुभएको थियो। भ्रष्टाचारविरुद्धका हाम्रो आजावले सडक गुञ्जयमान बनाउनुपर्छ । आन्दोलनलाई शान्तिपूर्ण बनाउनुपर्छ भन्ने यी कुरा हामीले आन्दोलन अघि नै सुनेका हौँ ।  

त्यसैले अब हामीले के ख्याल गर्नुपर्छ भने जेन-जीलाई देखाएर काठमाडौंमा जुन हिंसा र विध्वंस मच्चाइयो यसको वृहत समीक्षा गर्नै पर्छ । यत्रो ठूलो जनधनको क्षति र विध्वंसलाई सुरक्षा संयन्त्रले किन नजरअन्दाज गर्‍यो यसको पनि समीक्षा हुनुपर्छ ।  

यो अवस्थामा कस्तो सुरक्षा संयमता अपनाउनुपर्ने, सुरक्षा संवेदनशीलताको विषयलाई मध्यनजर गर्नुपर्ने कुरा किन सुरक्षा निकायले गरेन लगायतका कयौँ प्रश्न छन् ।  

यो घटनामा सुन्दर देशको परिकल्पना गरेका होनाहार युवाले ज्यान गुमाउनुपर्‍यो । तर ज्यान के विषयमा गुम्यो भन्ने विषय ओझेलमा परेको अवस्था आउन खोजेको छ । अर्कोतर्फ यत्रो धेरै सार्वजनिक सम्पत्तिको नोक्सानी भयो । यी क्षति जे मागका लागि भएका थिए । त्यही अनुसार हामी अघि बढ्दैछौँ त भन्ने प्रश्नको पनि जवाफ हामीले खोज्नुपर्छ । यी घटनाबाट हामीले सारै ठूलो पाठ सिक्न जरुरी छ ।  

अब खरानी भएको यो अवस्थितिलाई हेरेर हाम्रा कमिकमजोरीलाई सच्याएर जेन-जीका माग र मुद्दालाई पहिलो नम्बरमा राखेर, राष्ट्रिय एकता कायम गर्दै राजनीतिक दल अघि बढ्ने हो भने अबको केही महिनाभित्रै हामी नयाँ शिराबाट देशलाई अघि बढाउन सकिन्छ । त्यो आत्मविश्वासका साथ हामी लाग्नुपरछ ।  

छानविनमा सहयोग गरौँ, सुशासन कायम गरौँ

सुशासन कायम गर्ने कुरामा हामी प्रतिवद्ध हुनुपर्छ । यहाँ साथीहरूले पनि उठाउनुभएको छ । ०४६ सालको परिवर्तनपछि सार्वजनिक ओहदामा रहेका व्यक्तिको सम्पत्ति छानविन गरौँ भन्नुभएको छ । उहाँहरूको माग र आवाजलाई सम्बोधन गर्दै म भन्छु- म ०७४ सालदेखि सांसद चुनिएको छु । जनताले मलाई प्रतिनिधि बनाएका छन् । म प्रतिनिधि चुनिएपछि मैले अनुचित रुपले एक रुपैयाँ कमाएको रहेछु भने मलाई पार्टीले कारबाही गरोस्, मलाई जनताले कारबाही गरुन, कानूनी सम्पूर्ण कारबाही भोग्न म तयार छु । यहीबाट म घोषणा गर्दछु ।

मेरो सम्पत्तिको छानविन गर्ने अधिकार तपाईंसँग छ । मेरो सम्पत्तिको छानविन गर्ने अधिकार राज्यसँग हुनुपर्छ । जनताले विश्वासका साथ मत दिएर पठाएको जनप्रतिनिधि हो । उसको जीवन पारदर्शी हुनुपर्छ । हामी तयार छौँ । यो विषयमा सबै तयार भएर आउनुपर्छ ।

होइन भने निश्चित स्वार्थ समूहले अकूत सम्पत्ति कमाउने, आफ्नो स्वार्थ पूरा गर्ने अनि त्यसको भाग सबैले टाउकोमा बोक्दिनुपर्ने ? त्यो हुँदैन । सबै जवाफदेही बन्नुपर्छ ।

तोडफोड आगजनी गर्ने एमाले हुँदै सक्दैन

एमालेको सदस्य हुने, एमाले हुँ भन्ने, एमालेको झण्डा बोक्ने । तर कांग्रेसको कार्यालय देख्यो भने जलाउँछ । माओवादीको पार्टी कार्यालय देख्यो भने आगो लगाउन पुग्छ । कुनै सार्वजनिक सम्पत्ति देख्यो भने जलाउँछ । भने त्यस्तो मान्छे एमाले हुन सक्दैन । त्यसलाई खोजी खोजी निर्ममतापूर्वक कारबाही गरिनुपर्छ । त्यसलाई तत्काल पक्राउ गरी प्रहरी कार्यालयमा लगेर बुझाउन पर्छ ।

यो विषय प्रशासनले पनि हेरोस् । जो जो संलग्न छन् तिनीहरूको कारबाही होस् । आगजनी गर्न हिँड्ने मान्छेलाई कारबाहीको दायरामा ल्याउने र कानूनी कारबाही गर्ने जिम्मेवारी प्रशासनले लिनुपर्छ ।

मेरो पनि घर जलाए । लागेको हुनसक्छ । पार्टी कार्यालय जलाइयो घर जलाइयो यिनीहरूको मनोबल घट्छ र अब बाहिर निस्कँदैनन भन्ने सोचेका होलान् । तर त्यसो होइन । फेरि मजबुद हुँदै, संगठित हुँदै, पुनर्गठित हुँदै, एकताबद्ध हुँदै त्यसबाट शाहस बटुलेर अब एमाले निर्माणमा पार्टीका सबै पक्ष मिलेर फेरि उठ्दैछौँ । 

पदम गिरी

Leave a Comment