राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियो । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित हुनुहुन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नांगीमा जन्मिनुभएका पुनले नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवाबाट प्रविधिको क्षेत्रमा प्रवेश गर्नुभएको थियो । ‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेपछि सन् २००७ मा एशियाको नोबेल पुरस्कारका रुपमा चिनिने प्रसिद्ध म्यागसेसे पुरस्कार प्राप्त गर्नुभएको थियो ।

आफ्नै गाउँ नागीको हिमाञ्चल मावि तथा स्थानीयलाई आफ्नै खर्चमा म्याग्दी जिल्लाबाट इन्टरनेट अभियानको सुरुवात गरी नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा प्रवेश गर्नुभएका पुनले नागी गाउँबाटैबाट विद्यालय शिक्षा शुरु गरेर चितवन हुँदै काठमाडौंको अमृत साइन्स क्याम्पसबाट उच्च शिक्षा लिएका पुनले छात्रवृत्तिमा अमेरिका गएर पढ्ने अवसर पाउनुभएको थियो ।
अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातक गरेर २०४८ सालतिर म्याग्दी फर्किर्नुभयो।

पछि उनले अमेरिकाको सेही विद्यालयबाट स्नातकोत्तर गर्नुभयो । बि.स २०५० सालतिरै आफू जन्मिएको गाउँमा माध्यमिक विद्यालय खोलेर त्यसको तीन वर्षपछि अमेरिकाबाट फर्किए तारविहीन इन्टरनेटको परीक्षणपछि उहाँको चर्चा सुरु भएको थियो । नेपालमा इन्टरनेटको पहुँच सिमित व्यक्ति र संस्थामा मात्र थियो, त्योबेला उनले म्याग्दीका बाँदर लड्ने भीरमा इन्टरनेट चलाउन थालिसकेको भन्दै विश्वभर चर्चा चुलिएको थियो ।
नेपालमा महावीरले बनाएको वेबसाइटका कारण उनको गाउँमा विदेशी स्वयंसेवकहरुले समेत नागी सहितका बस्तीमा पुगेर सेवा दिने गरेका थिए । अमेरिकाबाट फर्केर ग्रामीण नेपाली जनताको सेवामा लाग्नुभएका पुन अहिले आफ्नो जिबनी बेचेर कृषि औजार केन्द्रमा खर्च गर्नुभएको छ । पुनले आफ्नो जग्गाजमिन समेत बेचेर आविष्कार केन्द्रमा खर्च गर्नुभएको छ ।