बेनी नगरपालिका–७,को कार्यालयले सञ्चालन गरेको कपडा बैंककमा लायन्स क्लव अफ बेनी लभ्लीहिल, लियो क्लवले सदरमुकाम बेनीबजारमा अभियान सञ्चालन गरी सहयोग गरेका छन् ।
घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा रहेको कपडा बैंकमा चाडपर्वमा लक्षित गरी बजारका व्यापारी तथा सर्वसाधारणबाट प्रयोग गर्न योग्य कपडा संकलन गरिएको क्लवका अध्यक्ष ओमप्रसाद शर्माले बताउनुभयो ।

दशैंतिहार लगायतका चाडपर्वमा विपन्नलाई लक्षित गरी सञ्चालित अभियानमा उत्साहजनक सहयोग मिलेको र यो अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने क्लवका अध्यक्ष शर्माको भनाई छ । वडा कार्यालयको सभाहलमा कपडा व्यवस्थापन गरिने र म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराइने छ ।
चाडपर्वमा विपन्नलाई सहज हुने गरी बेनीबजारमा ‘सक्नेले दिनुहोस् नसक्नेले लैजानुहोस्’ भन्ने नारा सहित संकलित कपडा वडा कार्यालयमा रहेको बैंकमा राखेर वितरण गरिने छ ।

प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराइने छ ।आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लैजान सक्ने र वडामा लैजानेको विवरण राखिए पनि गोप्य रहने क्लवका पूर्व अध्यक्ष एवम् वडा सदस्य विश्वास श्रेष्ठले बताउनुभयो ।

चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा सहज हुन्छ । यस अभियानमा वडा कार्यालयले समेत बजेट विनियोजन गरेको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । यस अगाडी वडाले समेत बजार क्षेत्रबाट विभिन्न संघसंस्थाबाट समेत सहयोगमा कपडा वितरण गरेको थियो ।