दसैं, तिहारको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर म्याग्दीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि कक्ष स्थापना गरिएको हो । म्याग्दी, मुस्ताङका लागि भित्रिने र बाहिरिने यात्रु, चालक तथा अन्य समस्यालाई समाधान गर्ने बेनीबजार, दरबाङमा रहेको सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले बताउनुभयो ।

क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएको सहित रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह गरिने छ । घटस्थापनासँगै जिल्लामा दसैंका लागि आउने यात्रुहरु बढेका छन् । कक्षमा यातायात व्यवसायीमाथि हुनसक्ने दुव्र्यवहार, सवारी तोडफोडबाट हुने क्षतिलाई रोक्न प्रमुख परियारले बताउनुभयो ।
ट्राफिक तथा यातायातसम्बन्धी सूचना एवं जानकारी लिनेदिने, चाडपर्वका नाममा हुने बिकृति र अपराधको न्युनीकरणमा समेत यात्रु सहायता कक्षले सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
चाडपर्वमा यात्रुको चाप बढी हुनेहुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता घटनालाई रोक्न जिल्लाभित्रका सबै सडक सञ्जालमा प्रहरी सहितको टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यात्रु वा चालकलाई कुनै समस्या परेमा निःशुल्क टेलिफोन नं १०० र १०३ मा फोन गर्न सकिन्छ ।