म्याग्दीको बेनी नगरपालिका-९ मा बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा तेस्रो वडा अध्यक्ष कप, प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको नगर प्रमुख सुरत केसीले उद्घाटन गदैं नगरपालिकाले खेलकुख क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । नगरप्रमुख केसीले खेलक्षेत्रमा संघीय र प्रदेश सरकारबाट आश्वासन बाहेक केही नपाइएपनि नगरको स्रोतसाधनको प्रयोग गरी खेल क्षेत्रमा लगानी गरिएको बताउनुभयो ।

उद्घाटनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जन शर्मा, प्रबक्ता रमेशकुमार श्रेष्ठ, वडा अध्यक्ष चक्तबहादुर केसी, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले मन्तब्य राख्नुभएको थियो , प्रतियोगिताको अध्यक्षता क्लव अध्यक्ष बिपिन चोखाल, स्वागत सदस्य अमिता खत्री र सञ्चालन शंकर चोखालले गर्नुभएको थियो ।

प्रतियोगितामा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने रहेको छ भने जिल्लाका चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने मेला संयोजक विजय चोखालले बताउनुभयो । वडाको खेलकुद विकासका लागि वडा कार्यालयले पछिल्लो तीन वर्षयता फरक फरक बस्तिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

उक्त प्रतियोगितामा पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार एक सय ११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आर्थिक संयोजक लोकन्द्रबहादुर खड्काले बताउनुभयो ।२० वर्ष भन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था गरिएको छ ।

भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको खेलकुद संयोजक नारायण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था रहेको छ । खेलकुदको विकास र खेल प्रतिभा पहिचानका लागि वडा अध्यक्ष कपले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।