---Advertisement---

भेडाच्याङ्ग्रा बेचेर मुस्ताङमा भित्रियो साढे ३६ करोड

On: September 25, 2025 1:43 PM
Follow Us:

मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित  जिल्ला भित्रका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ । 

यस बर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा (च्यालुक), ७ हजार दुईसय १ च्याङ्ग्रा बिक्री गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । त्यसैगरी मुगुबाट पाँचसय, जुम्लाबाट सातसय ७५, तिब्वत हुदै कोरला नाकाबाट पाँचसय ५० र डोल्पा जिल्लाबाट ५ हजार ९ सय भेडा च्याङ्ग्रा मुस्ताङ हुदै बाहिरिएको केन्द्रका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो । 

मुस्ताङका किसानले रोज्जा, रोमा तथा सानाठूला भेडा च्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ४० हजारका दरले बिक्री गरेका छन् । सरदर मूल्यअनुसार ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको बिक्री भएको केन्द्रका प्रमुख डा. अर्यालले बताउनुभयो । 

गत वर्षको तुलनामा करिब एक करोडभन्दा बढीको भेडा च्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गरेका छन् । मुस्ताङमा खरिद गर्न जाने ब्यापारीले कृषकबाट खरिद गरेको मूल्य लुकाउने गरेका छन् भने बजारमा रोज्जा भेडा च्याङ्ग्रालाई ४० हजार रुपियाँभन्दा बढीमा बिक्री गर्ने गरेको पाइन्छ ।

कृषक गुरूङले भन्नुभयो, ‘‘मेहनत अनुसारको कमाइ छ, बजारबाट आउने ब्यापारीले मनपरी मूल्य गर्दा च्याङ्ग्रापालक कृषक मारमा परेका छन् ।’’ सामान्यतः एउटा भेडाच्याङ्ग्रालाई मासु खानयोग्य बनाउन ३ देखि ५ वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालोसहित अन्य खर्च हुन्छ । 

गोरखापत्र अनलाइन

Leave a Comment