---Advertisement---

महावीर पुन: रोमन म्यागसेसेदेखि शिक्षामन्त्रीसम्म

On: September 25, 2025 9:27 PM
Follow Us:

 नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएलगत्तै महावीर पुनले आफूलाई बधाई दिन फोन नगर्नु भनेर फेसबुक स्टाटसमार्फत लेखे । कम बोल्ने तर आफूलाई लागेको कुरा धक नमानी बोल्ने उनले यसपटक पनि आफ्नो सिग्नेचर शैलीमा भने, ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्ने साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

उसो त जीवनको लामो हिस्सा उनले इनोभेसनमै योगदान गरे । नयाँ पुस्ताहरू जन्माए । पुनले लामो समयदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका करिब २ दर्जन क्षेत्रमा अनुसन्धान र इनोभेसनको काम निरन्तर गरे ।

पुनको बाल्यकाल भने म्याग्दीको नागीमा बित्यो । २०११ सालमा जन्मिएका उनले कक्षा ७ सातसम्म गाउँकै विद्यालयमा अध्ययन गरे । त्यसपछि चितवन पुगे । त्यहाँबाटै उनले बाँकी स्कुले पढाइ पूरा गरे । कक्षा १२ सम्म पढेपछि उनी १२ वर्ष शिक्षण पेसामा लागे । ३३ वर्षको उमेरमा महावीर अमेरिकाको नेब्रास्का विश्वविद्यालयमा छात्रवृत्तिमार्फत पढ्न गए । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । पढाइ सकेर उतै बस्नेहरूको लहरलाई उछिनेर उनी भने २४ वर्षपछि आफ्नो गाउँ नाङ्गी फर्किए । हिमाञ्चल उमाविको स्थापनाबाट उनले गाउँमा अभियान अघि बढाए ।

नेपाल फर्किएर उनी सामाजिक काममा सक्रिय भए । गाउँमा वातावरणीय काम, चिज उत्पादन कार्यक्रममार्फत म्याग्दीको पौद्वरका बासिन्दालाई आत्मनिर्भर बनाउने अभियान, शैक्षिक सुधार, कागज निर्माण, मौरी पालन, च्याउ खेती, लुगा बनाउने कामसँगै कम्युटर किनेर कम्प्युटर बनाउने तालिम जस्ता थुप्रै सफल प्रयास गरे । महावीरले गाउँमा वायरलेस टेक्नोलोजीमार्फत गाउँ गाउँमा इन्टरनेट पुर्‍याउने कामले प्रसिद्धी पनि पाए । यहीकारण उनको ख्याती राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फैलियो ।

सन २००१ मा बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पुर्‍याउने योजनालाई साकार गरिदिएको थियो । त्यसपछि युरोप र अमेरिकाका विभिन्न दाताहरूले पुनलाई आर्थिक सहयोग गरे । फलस्वरूप नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सपनाले सार्थकता पायो । सोही योगदानका लागि उनलाई एसियाको नोबेल पुरस्कार मानिने ‘रोमन म्यागसेसे पुरस्कार’ दिइएको थियो । त्यस्तै उनी ‘इन्टरनेट हल अफ फेम’, समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोस्टल अवार्डजस्ता विभिन्न सम्मानद्वारा पुरस्कृत भइसकेका छन् ।

पुनले सन् २०१२ राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे । सूचना प्रविधि तथा इनोभेसनमार्फत देशमा योगदान गर्ने अभिप्रायका साथ उनले केन्द्रको स्थापना गरेका थिए । जहाँबाट उनले नयाँ पुस्ताहरू जन्माए, विभिन्न औजार, उपकरण बनाए, विभिन्न योजना बुने । देश कोभिड महामारीबाट गुज्रिरहेको बेलामा उनले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गरे ।भेन्टिलेटरको अभाव खेपिरहेको समयमा अस्पतालमा बिग्रेका भेन्टिलेटरहरू निर्माणमा सघाउ पुर्‍याए ।

तर सरकारले कहिल्यै विज्ञान प्रविधिको क्षेत्रमा सहयोग नगरेको गुनासो उनमा भइरह्यो । पछिल्लो समय उनी आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’को बिक्रीका लागि देश दौडाहा गरिरहेका थिए । पुस्तक बेचेर कमाएको पैसाले वीरगन्जमा ०५९देखि बन्द अवस्थामा रहेको कृषि औजार कारखाना ब्युँताउनु थियो उनलाई । अहिले त्यो सञ्चालनमा पनि आइसक्यो । बाँकी मेसिन मर्मत र खरिदका लागि सरकारको ढोका ढकढकाए पनि उनले सहयोग पाएका थिएनन् । उनले सहयोग जुटाउन अवार्ड र मेडल पनि बिक्री गरे । उनको आत्मकथा भने पुनको अभियानलाई सघाउने हेतुले हजारौँ मानिसहरूले किनिदिए ।

पुनले हरेक वर्षको बजेटमा कम्तीमा १ प्रतिशत आविष्कार र अनुसन्धानको क्षेत्रका लागि विनियोजन गरिनुपर्ने मागसहित आन्दोलनसमेत गरेका थिए । उनको मागअनुरुप तत्कालीन सरकारले सहमतिसमेत गरेको थियो ।

पुस्तक बिक्री अभियानकै बेला देशमा जेन–जी आन्दोलन भयो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यही सरकारमा उनी मन्त्री नियुक्ति भएका छन् । उनले पढेको, लामो समयदेखि अभ्यास गरेको क्षेत्रकै नेतृत्व पाउँदा के परिवर्तन आउला रु त्यो भने उनका निम्ति परीक्षाकै विषय रहेको छ ।

Leave a Comment