---Advertisement---

अन्नपूर्णमा ‘होम डेलीभरी’ शून्य

On: September 25, 2025 9:33 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसुति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शुन्य बनाएको हो ।


असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्वरुप घरमा प्रसूति हुनेको संख्या लगातार दोस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले जानकारी दिनुभयो ।


‘अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएका छौ,” उहाँले भन्नुभयो, “यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं ।”
यहाँ आर्थिक वर्ष २०८१÷०८२ ७९ र २०८०÷८१ मा ९१ जनाले सुरक्षित प्रसुति सेवा लिएका छन् । आव २०७९÷८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८÷७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।


घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।


गर्भवती स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उहाँले बताउनुभयो । अन्नपूर्णले सुरक्षित प्रसुति सेवा, पोषण सुधार लगायतका कार्यक्रमका लागि संघीय र प्रदेश सरकारको अनुदान बाहेक वार्षिक रु. एक करोडको हाराहारीमा बजेट बिनियोजन गरेको अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।


तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।


उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको घार स्वास्थ्य चौकीको अहेव मातृका प्रसाद जोशीले बताउनुभयो । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको उहाँले बताउनुभयो ।


गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दाना बाहेक, भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

Leave a Comment