---Advertisement---

म्याग्दी कारागारबाट भागेका कैदीबन्दीलाई समात्न विशेष टोली !

On: September 26, 2025 7:24 PM
Follow Us:

म्याग्दीमा चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै विशेष सुरक्षा योजना लागू गरेको नेपाल प्रहरीले जेन–जी समूहको आन्दोलनको मौका छोपी जिल्ला कारागार कार्यालय म्याग्दीबाट फरार भएकालाई खोजीलाई प्राथमिकतामा राखेको छ । प्रहरीले तयार गरेको विशेष सुरक्षा योजनामा जेन्सी आन्दोलनको समयमा कारागारबाट भागेर अझै सम्पर्कमा नआएका कैदीबन्दीको खोजीकार्यका लागि सादा प्रहरी सहितको विशेष टोली परिचालन समेत उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलका अनुसार भागेका कैदीबन्दीलाई आफैं सम्पर्कमा आउन पटकपटक अनुरोध गरिएको छ ।‘भागेकालाई आफैं सम्पर्कमा आए राम्रो हुन्छ, हामीले नै पक्राउ गरेको अवस्थामा अतिरिक्त सजाय सहित जरिवाना हुन्छ’ प्रहरी निरीक्षक समेत रहनुभएका पौडेलले बेनीअनलाइनलाई भन्नुभयो ।


जिल्ला कारागारबाट भागेका ७६ कैदीबन्दीमध्ये ३९ जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने हाल कर्तब्य ज्यान, लागुऔषधका कारोबारमा संलग्न सहित ६ जना फरार छन् । कारागार ऐन २०७९ दफा ४९ अनुसार कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा तोकिएको सजाय बाहेक आत्मसमर्पण नगरेको अवस्थामा प्रहरीले पक्राउ गरे झनै कानुनी झन्झटमा पर्ने देखिन्छ ।

अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्त तथा अदालतबाट सजाय भुक्तान गरिरहेका कैदीबन्दीेलाई फरार अवस्थामै प्रहरीले पक्राउ गरेमा थप पाँच बर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायको ब्यवस्था रहेको छ ।स्वेच्छाले फर्किएका कैदीबन्दीलाई तोकिएको सजाय बाहेक अतिरिक्त सजाय नहुने जनाइएको छ । यता कैदीबन्दीलाई भगाउन सहयोग गर्नेमध्ये ७ जनालाई पक्राउ गरी कारागार ऐन २०७९ विपरीतको कसुरमा अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।

Leave a Comment