बेनी नगरपालिका–८, शिक्षामार्गस्थित सिमा फिस हाउसमा फ्रिज भित्र कुहिएको माछा भेटियो । चाडपर्व लक्षित बजार अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका,पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त टोलीलेसदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरूको अवस्था झन विकराल रहेको पाइएको छ ।
चाडपर्वमा अधिक खपत हुने मासु पसल १६ वटाको अनुगमन गर्ने क्रममा ६ वटाले न्यूनतम मापदण्ड पालना तथा १० वटाले न्युनतम मापदण्ड समेत पालना नगरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृत प्रसाद कँडेलले बताउनुभयो । ‘अनुगमनको सुझावलाई अटेर गरेको पाइयो, अब मापदण्ड पालना नगरेका मासु पसल बन्द गर्नुको विकल्प छैन, हामीले सुधारका लागि अन्तिम अवसर दिएका छौ’ कार्यालय प्रमुख कँडेलले भन्नुभयो । सदरमुकाम बेनी सहित ग्रामिण क्षेत्रका बजारमा मासु पसल धेरै नभई मापदण्ड पालना गरेकालाई मात्रै सञ्चालन गर्न दिने गरी आवश्यक समन्वय गरिने अनुगमन टोलीको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले अनुगमनमा भेटिएका कमजोरी सुधार नभए कानुन अनुसार कारवाही हुने बताउनुभयो । बजार अनुगमनको क्रममा बेनीबजारमा रहेका मासु पसलमा मासु काट्ने अचानो, हतियार र मासुमा झिंगा घुमिरहेको,मासु बिक्री गर्ने स्थलमा समेत दुर्गन्धले नाक थुन्नुपर्ने अवस्था समेत देखिएको अनुगमन टोलीको भनाई छ । यसअगाडी गुणस्तरहिन मासु बिक्री गरेको आरोपमा प्रशासनमा बोलाउने र सुधार गर्न निर्देशन दिनुबाहेक कानुनबिपरित गर्नेलाई कानुनी कारबाही नगर्दा फोहोर मासु उपभोक्तालेअस्वस्थकर मासु खान बाध्य भएका छन् ।
उपभोक्तालाई स्वच्छ र स्वस्थ्य मासुको प्रत्याभूति गराउन नियामक निकाय निर्देशनले दर्जनौ पटक दिएको सुझावलाई ब्यापारीले ‘काग कराउदै जान्छ पिना सुक्दै जान्छ’ भन्ने उखान जस्तै सुधारका लागि कुनै पहल गरेका छैनन् । बेनीबजारमा मासु काट्ने ठाउँमा ब्याक्टेरिया मार्न प्रयोग स्याफु प्रयोग गर्ने गरिन्छ । मासु पसलमा विक्री गर्ने व्यक्तिले एप्रोन, मास्क र टोपी नलगाउने गरेको, मासु विक्रीस्थलमा सिसाले पार्टेशन नगरेको र जालीवाला ढोका नराखेको समेत भेटिएको छ ।
मास्क नलगाइ मासु काटेको बेला खोक्दा पनि व्याक्टेरिया मासुमा पर्ने सम्भावना रहेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रतिनिधिको भनाई छ ।मासु पसल फोहोर रहेको तथा सरसफाइमा ध्यान नदिएको, पसलको भुइमा टायल नलगाएको र लामो समयसम्म मासु फ्रिजमा राख्ने नगरेकोे लगायतका कैफियत अनुगमनको क्रममा भेटिएकाले अब मासुपसलका सञ्चालनसँग अनुगमन नभई भेला गरी छलफल गर्ने बताइएको छ ।
यसैबीच हाँडेभिरमा रहेको बधस्थलमा समेत पशुचौपायाहरूको स्वास्थ्य परीक्षण बिनै बध गर्ने गरिएको भएपनि बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नजर पुगेको छैन् । बेनी नगरपालिका पशु शाखाले नियमित अनुगमन बाहेक शाखामार्फत गर्न सकिने मासु पसलको नियमित अनुगमनमा चासो देखाएको पाइदैन् । पशु बधशाला र मासु जाँच ऐन अनुसार मासु पसल दर्ता नगरीकनै सञ्चालन गरेको पाइएमा २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद गर्नसक्ने व्यवस्था रहेको छ ।