गण्डकी प्रदेशका एकमात्रै भन्सार कार्यालय मुस्ताङको कोरला भन्सार कार्यालयबाट ७ दिनमा सवा ६१ करोड राजस्व संकलन भएको छ भने २३० वटा इलेक्टिक भेहिकल (ईभी गाडी) भित्रिएका छन् । भदौ ३० गतेबाट सञ्चालनमा आएको कोरला भन्सारमा पछिल्लो एक सातामा कुल ३४३ मध्ये २३० वटा ईभी जाँचपास भएर नेपाल भित्रिएका हुन् ।
हाल ११३ वटा ईभी भने जाँचपासको क्रममा छन् । बिदाको दिनमा पनि भन्सारमा काम भइरहेको छ । आइतबार (असोज ५) सम्म चीनबाट १४२ वटा मालवाहक ढुवानी साधन नाकाबाट भित्रिएकामा १०४ वटा जाँचपास भएर नेपाल भित्रिएका छन् । नेपालबाट कोरला नाका हुँदै दुईवटा मालवाहक ढुवानी साधन चीनतर्फ गएका छन् ।
यी मालवाहक ढुवानी साधनमार्फत पूजाका सामान, मूर्ति र ज्याकेट निर्यात भएको कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए । पछिल्लो सात दिनमा ६१ करोड २४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको खड्काले बताए ।
रसुवा र तातोपानी भन्सार बाढीपहिरोका कारण बन्द भएपछि चीनतर्फबाट सामान नेपाल भित्र्याउन यो नाका सञ्चालनमा ल्याइएको हो । रसुवा र तातोपानी भन्सार बन्द हुँदा यो भन्सारबाट सामान आयात बढेको छ । अहिले नै अत्यधिक चिसो भएकाले हिउँदमा कोरला नाका प्रयोग हुनेमा शंका छ । कोरला भन्सार कार्यालय छेउमा कुनै पनि होटेल छैनन् । व्यवसायी तथा कर्मचारी दुई-तीन किलोमिटर तल झरेर होटेलमा बस्नुपर्ने बाध्यता छ ।
कोरला नाकाभन्दा सातरआठ किलोमिटर तल मुस्ताङ भन्सार कार्यालय रहेको छ । दसैँ नजिकिँदै गएकाले पनि चीनबाट सामान ल्याउने व्यापारीहरूले यो भन्सार प्रयोग गरिरहेका छन् । तर, कोरला नाकाबाट ५०० मिटर उता पुगेर चीनको भन्सार गोदामबाट व्यवसायीले सामान लोड गरेर ल्याउनुपर्ने बाध्यता छ ।
चीनतर्फका व्यापारीले उनीहरूकै भन्सारसम्म सामान ल्याइदिने गरेका छन् । एकदमै चिसो स्थानमा यो नाका भएकाले नेपालबाट गएका गाडी चिसोका कारण स्टार्ट नहुने समस्या देखिएको खड्का बताउँछन् ।
चिनियाँ पक्षबाट नेपाली भन्सारसम्म सामान ल्याइदिए यो नाका बाह्रै महिना सञ्चालन गर्न सकिने उनी बताउँछन् । तर, तातोपानी र रसुवा खुलेपछि अहिलेकै जस्तो चाप भने यो भन्सारमा नहुने खड्काले बताए ।
अहिले पनि यो भन्सारमा भौतिक पूर्वाधारको राम्रो व्यवस्था छैन । सीमित पूर्वाधारमा काम भइरहेको छ । सार्वजनिक शौचालयसमेत भन्सार कार्यालयमा नरहेको खड्का बताउँछन् । यो क्षेत्रमा बिजुली र इन्टरनेटको समेत राम्रो व्यवस्था नभएको उनको भनाइ छ ।